STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो ।
“साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले रासससँग भन्नुभयो, “सरकारले मुक्त हलिया पुनःस्थापना प्याकेज ल्याए पनि त्यो दीर्घकालीन छैन ।”
बागफाँटामा पुनःस्थापना कार्यक्रमअन्तर्गत हाल ३५ परिवारका लागि दुईकोठे घर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भूमि सुधार कार्यालय कञ्चनपुरले मुक्त हलियालाई घर बनाउन प्रतिपरिवार रु २५ हजार दिएको छ । तर उक्त रकमले घर बनाउन अपुग भएको मुक्त हलियाको दुखेसो छ ।
“जस्ता र छानाका लागि दातृ निकायले सहयोग नगरेको भए बासका लागि पनि समस्या हुन्थ्यो”, लुहारले भन्नुभयो, “बसोबासको प्रबन्ध त जेनतेन भयो तर गाँसका लागि फेरि भौतारिनुपर्ने अवस्था छ ।” उहाँले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा अझ समस्या बल्झिएको बताउनुभयो ।
“गाँसका लागि हामीले फेरि अरुको काम ताक्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “सरकारले मुक्त हलियाका लागि रोजगारी र सीपमूलक तालीम दिएमात्रै परनिर्भरता हट्न सक्छ ।”
सरकारले फेरि हलियालाई शहरी क्षेत्रको छेउछाउमा राख्नुको सट्टा नदीको छेउमा ल्याएर राखेको भन्दै उहाँले बाढीको समस्याबाट मुक्त गराउन मागसमेत गर्नुभयो । “नौ धुर जग्गामा घर बनाएर परिवारलाई त ओत लगाउने ठाउँ हुँदैछ”, लुहारले भन्नुभयो, “आयमूलक प्याकेज नदिएसम्म हलियाको अवस्था उस्तै रहने निश्चित छ ।”
त्यसैगरी स्थानीय वीरराम लुहारले पनि पुनःस्थापना गर्न राज्यले उचित सम्बोधन नगरेको गुनासो पोख्नुभयो । “थोरै जग्गा र अपुग रकम दिँदा घर पूरा नहोला भन्ने चिन्ताले आफैँ निर्माणमा लागेका छौँ” उहाँले भन्नुभयो, “छाक टार्न कहाँ जाने रु के गर्ने भन्ने चिन्ता हटेको छैन ।”
त्यसैगरी पुनःस्थापना बस्तीका १४ वर्षीया राधिका दमाइले बस्तीमा कुनै सुविधा नपाएको बताउनुभयो । “सडक सञ्जाल राम्रो नहुँदा दिनहँु खोला तरेर स्कूल जान्छु”, कक्षा ६ मा अध्ययनरत दमाइले भन्नुभयो, “देशका धेरै परिर्वतन आयो भन्छन् तर कहाँ आयो थाहा भएन ।”
कञ्चनपुरमा रहेका दुई हजार ५१६ मुक्तहलियामध्ये अहिले एक हजार ८१० परिवारको पुनःस्थापन भइरहेको छ भने ७०६ परिवारको पुनःस्थापना बाँकी रहेको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जनाएको छ । मुक्त हलियालाई चार वर्गमा वर्गीकरणसमेत गरिएको छ ।
Categorized in राष्ट्रिय