मुहाने गह्रोमा नूनदेखि सुनसम्म
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ४, बुधबार
सिन्धुलीको च्याकुटारबेँसीस्थित मुहाने गह्रो तीन जिल्लाका उपभोक्ता र व्यापारीको जमघटको केन्द्र बनेको छ । डुड्भञ्ज्याङ कृषि सहकारी संस्थाको अगुवाइमा प्रत्येक साताको बिहीबार हाट लाग्ने व्यवस्था भएसँगै मुहाने गह्रो उपभोक्ता र व्यापारीको जमघटको केन्द्र बनेको हो ।
ओखलढुङ्गा, रामेछाप र सिन्धुलीका व्यापारी तथा उपभोक्ता घर आँगनकै उक्त हाटमा पुगेर दैनिक उपभोग्य सामग्रीको किनबेच गर्न पाएकामा हर्षित छन् । गोलन्जोर गाउँपालिका–१ स्थित च्याकुटारबेँसी फाँटको सबैभन्दा ठूलो र सिरानमा रहेको उक्त गह्रो साढे चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।
उक्त हाटमा तीन जिल्लाका गडतीर भेगका उत्पादन खासगरी जुनेलो, मम्फली, गहत, मास मस्याङलगायतका गेडागुडी बेच्न पाएकामा आफूहरुलाई खुशी लागेको स्थानीय गणेश पहरी बताउनुहुन्छ । उक्त हाटमा पुगेर अहिले त्यस भेगका जनताले पहिले कहिल्यै नचाखेको जेरीस्वारीदेखि ममको स्वाद लिन पाएको नागरिक समाजका अगुवा कुञ्जरमणि बरालले बताउनुभयो ।
मुहाने गह्रोमा अहिले नूनदेखि सुनसम्मको कारोवार हुने गरेको छ । लेकाली आलुदेखि कागती, ज्यामिर, निबुवा, भोगटे, कागुनु, गान्टेमुला हुँदै सर्लाहीको गोलभेँडा पनि उक्त हाटमा पुग्ने गरेको छ । यस भेगमा फर्सी, काँक्रो, कुभिण्डो, काउली, घिरौँला, लौका, इस्कुस, आँप, सखरखण्ड तथा अमिलोजन्य फलफूलको उत्पादन अधिक हुनेगर्छ ।
हाटमा चामल, दाल, ताजा तरकारी, फलफूललगायत दैनिक अत्यावश्यक उपभोग्य खाद्यान्न, तयारी कपडा, चुरा धागोलगायत सिङ्गारका सामग्री र भाँडाकुँडाको किनबेच बढी हुने गरेको स्थानीयवासी एकराज न्यौपाने बताउँनुहुन्छ । हाटलाई व्यवस्थित गर्न मदिराजन्य पदार्थको बिक्री वितरणमा भने रोक लगाइएको छ । बिक्रीका हिसाबले जङ्गलका फल फडिर, जामुन, अम्बा, बयर, अमला, ऐँसेलु, काफल र आँटीले पनि राम्रो बजार पाउन थालेको छ । यसअघि त्यस भेगका जनता किनमेलका लागि आठ कोस टाढा पुरानो रामेछाप सदरमुकाम पुग्ने गर्थे ।
Categorized in राष्ट्रिय


