STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे माग

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन २, शुक्रबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । कांग्रेसले यो निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो माग गरेका हुन्। प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– ‘शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ । तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ।’ उनले कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन् र मृत्यु पश्चात कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए भन्दै मृत्युपछि मात्रै पीसीआर भनेर भएका आलोचना अन्त्य गर्न सरकारको परीक्षण नै नगर्ने निर्णय गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउन पनि शंकास्पद मृत्यु भएका ब्यक्तिको परीक्षण जरुरी भएको कांग्रेसले बताएको छ । तर मृत्युको ग्राफ उकालो लागिरहेका बेला सरकारले परीक्षण नै नगर्ने नीति लिएको भन्दै प्रवक्ता शर्माले भनेका छन्, ‘शंकास्पद मृत्युको परीक्षण नगर्ने नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाउला तर मृत्युको बढ्दो गति रोक्न सघाउँदैन ।’ उनले प्रश्न गरेका छन्, ‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्याङ्क लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने रुशंकास्पद मृत्युमा कोरोना परिक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
Categorized in राजनीति