STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेयर बालेनको व्यवहार असभ्य : ओली

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २०, आइतबार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरीवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो।

उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ। 

सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन्। उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निर्क्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे।

‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ? गलत गयौँ भनेर कसैले भन्न सक्दैन। के हालत होला? यो गलत हो। यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन,’ उनले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नु पर्दैन? उनीहरूको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ। अनि अरु चुप लागेर बस्छन् झोक्र्याएर। यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन! यो एउटा महत्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन। त्यति पनि भन्न सकिँदैन?’

उनले युवा संघका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो पर्यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे। बाहिर नभने पनि कामको मूल्यांकन गरेर बसेको भन्दै उनले प्रदेश–प्रदेशमा उपाध्यक्ष आवश्यक रहेकाले संगठनमा सच्याउन निर्देशन दिए। 

उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्। नेतृत्व र पदका लफडा। अप्ठेरो पर्यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भनिदिन्छौँ। हामीले कामको मूल्यांकन गरेर बसेका छौं, नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौँ, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो। उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन। मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो। त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो। प्रदेश–प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ। सकेसम्म सच्याउनुस्।’

Categorized in राजनीति