STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्यानमारमा शान्तिकाे लागि कालोपट्टी बाँधी मैनबत्ती बोकेर प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २५, बुधबार

शान्तिवादीहरूले आँखा/निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेर काठमाडौंको बौद्धमा प्रदर्शन गरेका छन् । म्यानमार (बर्मा)का नागरिकको जीवनरक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले बुधबार साँझ ६:३० देखि ७ बजेसम्म बौद्धनाथ अगाडि मैनबत्ती बोकेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारालगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनमा सहभागीले बर्मा : नागरिकको जीवनरक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवताविरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यबद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभावा श्रेष्ठसहित जनप्रतिनिधिले समेत प्रदर्शनमा सहभागी भई ऐक्यबद्धता जनाएका थिए ।

यसैगरी आज साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवनरक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् भने मंगलबार शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरू आयोजना गरिसकेको समाजका तर्फबाट सरिता पौडेलले जानकारी दिइन् ।

Categorized in राष्ट्रिय