म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १९, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफुले राजीनामा नदिने बताएका हुन् ।
पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
उनले भने ‘तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्याएर भनेको छु फेरी केहीले खोइ त राजीामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।
Categorized in राजनीति

