यःसिँ ढालेसँगै इन्द्रजात्रा सम्पन्न
Janjati Khabar – रासस | २०७८ आश्विन ९, शनिबार
काठमाडौं - ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको यःसिँ शुक्रबार राति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपतन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । शुक्रबार राति इन्द्रध्वजपतन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।
यसअघि शुक्रबारै राति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी थिइन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ । दिउसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।
इन्द्रजात्राका अवसरमा अवसरमा असोज ४ गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते आइतबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । यस दिन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रिगण, सांसदलगायत जनप्रतिनिधिले जात्रा अवलोकन गरेका थिए ।
इन्द्रध्वजपतन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकू दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएको ऐतिहासिक तथ्य पनि छ ।
वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ३ गते आइतबार विधिपूर्वक पूजा आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिएको थियो ।
इन्द्रजात्राको अन्तिम दिन आज पनि हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । यस अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भीड लागेको थियो ।
Categorized in उपत्यका

