STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यात्रीलाई ध्रुवकुण्डमा इस्लामधर्मावलम्बीको बिदाइ

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् । इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुव पछि राजाले सो स्थानमा तपस्या गरेका किंवदन्ति रहँदै आएको छ । सो कुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । “यहीँ धमौरा कुण्ड छ, यहीँ नजिक इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार समाधीस्थल छ”, धमौराका सामाजिक अभियान्ता मन्सुल कवारी भन्नुहुन्छ, “हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने उहाँले बताउनुभयो । शनिबार यात्री ध्रुवकुण्ड आइपुग्दा इस्लाम धर्मावलम्बीले फूलमाला लगाएर यात्रीको स्वागत गरेका थिए । “मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका इस्लाम धमावलम्बी सामाजिक अगुवा अमानुल्ला शेषले भन्नुभयोे, “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ्नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, आवास व्यवस्था र उपचार व्यवस्था हाम्रा लागि खास महत्वका कुरा हुन् ।” मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट शुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकआपसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता रहँदै आएको छ । कञ्चनवनपछि परिक्रमा धनुषा जिल्लामा प्रवेश गर्नेछ ।
Categorized in राष्ट्रिय