STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ ः उपप्रम पोखरेल

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उहाँले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ । “अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्”, उहाँले भन्नुभयो, “अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्दछ ।” रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको छ भन्नुभयो । उहाँले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने बताउनुभयो । नेपालमा पहिलो पटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ । कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताउनुभयो । “युवाका आकाङ्क्षा धेरै नै रहेका छन् । ती आकाङ्क्षालाई पुरा गर्नका लागि युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ ।” कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले युवाद्वारा नै राजनीतिक परिवर्तन सम्भव भएकाले अब समाज, घर, जीवन परिवर्तन गर्न जिम्मा युवाको काँधमा रहेको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सार्वजनिक शिक्षामा रुपान्तरण गरेर युवालाई सक्षम बनाउनुपर्ने बताउनुभयो । “यस वर्षको नारा पनि शिक्षासँग सम्बन्धित छ । शिक्षालाई रुपान्तारण गर्दै युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक छ”, उहाँले भन्नुभयो, “युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्दछ ।” दिवसका अवसर पारेर युवा मन्त्रालय, परिषद् र विभिन्न युवाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले आज बिहान प्रभातफेरी निकालेका थिए । भृकुटीमण्डपदेखि भद्रकाली, रत्नपार्क हुँदै दिवस आयोजनास्थल नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म पुगेको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०।३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन् । युवाको क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नंमा रहेको छ । करीब १९।२ युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहरुको संलग्नता ५०।२ रहेको र २६।१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ ।
Categorized in राष्ट्रिय