रअ प्रमुखसँग भेट नभएकाे प्रचण्ड र माधव नेपालकाे स्पष्टोक्ति
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ६, बिहिबार
काठमाडौं- भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडाैंमा के उत्रिए, शीर्ष नेताहरू उनीसँग भेट भएकाे कुरा बाहिर आएपछि रअ प्रमुखसँग भेट नभएकाे स्पष्टीकरण नेताहरूले दिएका छन् ।
रअका प्रमुखसँगकाे खुल्ला भेटलाई कूटनीतिक दृष्टिले लिने भएकाले पनि "भेट नभएकाे" कुरा बाहिर ल्याइएकाे हाे ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतको गुप्तचर निकाय रअका प्रमुखसँग भेट नभएको जनाएको छ ।
‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी माधव नेपालको ट्विट गरी रअ प्रमुखसँग भेट नभएको जनाएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसँग आफ्नो भेट नभएको स्पष्ट पारेका छन् ।
नेता नेपालले गोयलसँग भेट गरेको समाचार बाहिर आएपछि उनले त्यसको खण्डन गरेका हुन् । उनले आफूले रअका प्रमुखसँग भेट गरेको भनेर आएका समाचार भ्रामक र झुठो भएको बताएका छन् ।
ट्विटरमा उनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
Categorized in राजनीति

