STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध • टिकटकमा चलाए 'नो रवि ट्रेन्ड’

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार

काठमाडौं- जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ । आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा 'नो रबि' ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । 'हामी रवि लामिछानेका लागि लडेका थिएनौँ', सबु रेग्मीले टिकटक भिडियोमा भनेकी छन्, 'पहिलो कुरा, कुनै पनि जेनजी रवि लामिछानेको पक्षमा छैन, उनीसँगै १५/१६ सय अपराधी जेलबाट निस्केका छन् ।'

उनीहरूका कारण अरु असुरक्षित भएको रेग्मीको भनाइ छ ।  उनले सबै अपराधी भागेको जिम्मेवारी रास्वपाले लिन्छ ? भनेर प्रश्नसमेत गरेकी छन् । 

अर्की टिकटक प्रयोगकर्ता मलि शा भन्छिन्, 'जेनजीले दाग लागेका र अपराधी छुटाउन आन्दोलन गरेका होइनन्, हामी लामिछानेको रिहाइ स्वीकार्दैनौँ ।' 

जेनजी नामको टिकटक ह्याण्डलमा रवि लामिछानेलाई उनकै कार्यकर्ताले मौकाको फाइदा हेरेर छुटाएको लेखिएको छ । यो ह्याण्डलमा पनि लामिछानेको रिहालाई अस्वीकार गरिएको छ । 

रेथिएस्ट नामका जेनजी युवाले पनि लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 'रवि लामिछानेलाई जेलबाट निकाल्ने हाम्रो एजेन्डा छँदै थिएन', उनले भनेका छन्, 'यो हाम्रो आन्दोलनको दुरुपयोग हो । जेलमा गएर लामिछाने र अरु कैदीलाई निकाल्ने काम रास्वपाका झोलेहरूले गरेका हुन् ।'

टिकटकमै शसांक शेखरले पनि रवि लामिछानेलाई जेनजीले नछुटाएको बताएका छन् । 'रवि एक अभियुक्त हुन्, उनी जेलबाट फरार भएका हुन्, उनलाई पुनः जेलमा हालिनुपर्छ जेनजीको यो माग हो', निकनेम (मिस्टर पोइट) ले भिडियोमा भनेका छन् । 

यस्तै अशयमा अरु थुप्रै भिडियो जेनजीहरूले बनाइरहेका छन् । आफूहरू भ्रष्टाचार र पुरानो राजनीति सम्झाउने प्रवृतिको विरोधमा आन्दोलनमा उत्रेको र लामिछानेलाई तीन तहको अदालतले बेदाग नमानेकाले स्वीकार्न नसक्ने जेनजीहरूको भनाइ छ । अदालतबाट सफाइ पाएर आएमा स्वागत गर्ने उनीहरूले बताएका छन् । कतिपयले चाहिँ लामिछानेलाई फेरि जेल पठाउन माग गरेका छन् । यसअघि जेनजी नामको फेसबुक पेजबाट रवि रिहाइको विरोधमा आएको पोस्ट व्यापक शेयर भएको देखिन्थ्यो । 

जेनजी आन्दोलन चलिरहेका बेला मंगलबार लामिछाने आफूलाई कारागारले प्रक्रिया पूरा गरेर छोडेको दाबी गर्दै आफ्ना कार्यकर्ताको घेरामा रहेर नख्खु कारागारबाट बाहिरिएका थिए । उनीसहित सयौँ अपराधी र अभियुक्त जेलबाट भागेका छन् । दुईपल्ट उपप्रधान एवम् गृहमन्त्री भैसकेका लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दाका अभियुक्त हुन् । उच्च अदालतको आदेशले रुपन्देही कारागार चलान भएका उनी आफ्नै मागबमोजिम केही साता अगाडि नख्खु कारागार सरुवा भएका थिए । 

नेताहरूको सम्पत्ति राष्ट्रियकरण गराैँ : रवि लामिछाने

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दलका नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । जेलबाट रिहा भएलगत्तै लामिछानेले नेताहरूले ३ पुस्तालाई लुटेर जोडेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् । 

उनले जारी गरेको अपिलमा भनिएको छ, 'यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनिहरूलाई कानुनी दायरामा समेत ल्याउनै पर्छ ।’

साथै लामिछानेले आन्दोलनकारीलाई संयमित हुन आह्वान गरेका छन् । राष्ट्रिय सम्पत्ति जोगाउन आग्रह गर्दै लामिछानेले मुलुकको नेतृत्व जेन–जीकै मागअनुसार र जेन–जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन् ।   

लामिछानेले श्रीमती निकिता पौडेलको फेसबुकबाट अपिल जारी गरेका हुन् । 

उनको अपिल 

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू

सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन्। यिनको बाँकी सम्पत्ति पनि पूर्णरूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ। तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुन सक्छन्।

जुन तपाईँ हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन विशुद्ध जेन जीको हो। मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेन्जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु। 

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ। यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु।

एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु।

Categorized in राष्ट्रिय