STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो  आयोजना शुरु गरिएको होे । 
कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी किनारमा पम्प हाउस र पानी सङ्कलन गर्ने ट्याङ्की, नदी र गाउँका बीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसी ट्याङ्कीलगायत सबै भौतिक निर्माणका काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “आगामी असार दोस्रो साताभित्र घरघरमा खानेपानी वितरण गर्न अहिले विद्युत् विस्तारको काम गरिरहेका छौँ ।”
जिल्लाको दक्षिणी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्र कालापानीमा सञ्चालित आयोजनाका लागि २५ केभीको तीन वटा विद्युत् ट्रान्सफर्मरसमेत जडान गरिसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राउतले जानकारी दिनुभयोे । अहिले विद्युत्का लागि पोल गाड्ने तथा तार टाँग्ने काम सकेर मिटर जडानको काम भइरहेको जनाइएको छ । 
कालापानीका ११५ घरपरिवारलाई लक्षित गरेर सुनकोशीको पानी पम्प गरेर वितरण गर्ने योजनाका साथ २०७२ साल चैतबाट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीबासी ढिलै भए पनि आफ्नो गाउँमा सञ्चालित खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अहिले हर्षित भएका छन् । 
कालापानीमा यसअघि छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान पनि सुकेकाले अहिले घण्टौँ टाढा रहेको कुवा तथा खोलाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् । 
स्थानीय उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदानका साथै रु एक करोड ८० लाखको लागतमा सो आयोजना पूरा हुने जनाइएको छ । वरपर भएका खानेपानीको मुहान सुकिसकेको र अन्य वैकल्पिक स्रोत नभएपछि कालापानीमा सुनकोशी नदीको पानी तान्ने विकल्प अघि सारिएको हो ।
Categorized in राष्ट्रिय