STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजधानी सडकको बिजोग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ । 
 
सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुलको काम गरे पनि ६ महीना नपुग्दै ती सडक भत्किएर पुरानै अवस्थामा पुगेका छन् । स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडकमा उफ्रिँदै यात्रा गर्छन् तर त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यान भने जान सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाले पनि बजेट नभएका कारण मर्मत गर्न नसकेको जनाएको छ । 
 
वीरेन्द्रनगरको सडकमा यात्रा गर्दा निकै सकसपूर्ण हुने गरेको गुनासो स्थानीयवासीको छ । वीरेन्द्रनगर–८ खजुरामा बस्दै आएका खड्ग विश्वकर्माले सडकको खाल्डाखुल्डी मर्मतसम्भार नहुँदा सास्ती खेप्दै आएको बताउनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भए पनि सडकको अवस्था भने साह्रै दयनीय छ ।
सवारी चालक केशव खत्रीले सडकका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम झनै बढ्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर भत्किएको सडक अर्कातिर सडक किनारामा हुने सर्भिस सेन्टर र पार्किङ शहरी सौन्दर्यको बाधक बनेका छन् ।”
वीरेन्द्रनगर नगरपालिका–८ की वसन्ती गोतामेले भत्किएका सडकमा दैनिक ओहोरदोहोर गर्न निकै कठिन हुने गरेको बताउँदै कर्णालीको राजधानीका नगरको सडकको हालत त यस्तो छ, अन्य ठाउँका जनताको अवस्था झन् कस्तो होला रु यसमा प्रदेश सरकारको ध्यान जान जरुरी छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गणेशचोक, जिल्ला प्रहरी कार्यालय र कालुञ्चोक हँुदै एयरपोर्टका सडक टेण्डर भएर कार्य अघि बढिरहेको जानकारी दिनुभयो । 
“वीरेन्द्रनगरका सडक मर्मतका लागि टेण्डर छिट्टै भएर कामहरु अघि बढिरहेका छन्”, उपप्रमुख ढकालले भन्नुभयो, “सडक निर्माण तथा मर्मतका लागि प्रदेश सरकारसँग सहकार्य गरेर बाँकी रहेका सडकको मर्मतका काम पनि छिटै शुरु गरिनेछ ।” 
Categorized in राष्ट्रिय