राजा त्रिभूवन र महेन्द्रले प्रयोग गरेका ३ वटा सवारीसाधन संग्रहालयमा
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ११, बुधबार
काठमाडौं - नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधबार स्व. राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा सवारीसाधन प्रदर्शनमा राखिएको हो ।
पुराना सवारीसाधनको भौतिक मर्मत् र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको बताए ।
उनले स्व.राजा त्रिभूवन र महेन्द्रलाई उपहारस्वरुप प्राप्त भएको र उनको परिवारले प्रयोग गरेका गाडीहरु आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेको बताए । सचिव न्यौपानेले आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै जाने बताए । संग्रहालयलाई थप व्यवस्थित बनाउन बजेट छुट्याइएको र संग्रहालय दरबार संग्रहालयकै रुपमा सञ्चालन हुने प्रतिबद्धता जनाए ।
उनले भने, ‘दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिको नीति नै हो । पूर्व राजपरिवारले प्रयोग गर्नुभएका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्नु र संग्रहालयलाई अझ व्यवस्थित गर्दै जाने हाम्रो नीति हो । त्यसअनुसार पूर्व राजपरिवारले प्रयोग गरेका सामानहरुलाई डिस्प्लेमा थप्दै लगेका छाैं । आज त्यसैअनुरुप ३ वटा गाडी अवलोकनका लागि राखिएको हो । यो स्व.राजा त्रिभूवनलाई उपहारस्वरुप प्राप्त भएको र उहाँको परिवारले प्रयोग गर्नुभएको गाडीहरु आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेका छौँ ।’
उनले थपे, ‘आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै लैजाने छौँ । यो एउटा संग्रहालय भएको हुनाले संग्रहालयकै रुपमा सञ्चालन हुनुपर्छ । थप व्यवस्थापन गर्नेछौँ । यसलाई व्यवस्थापन गर्न बजेट कार्यक्रममा पनि छ ।’
त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित स्व. राजा त्रिभूवनले प्रयोग गरेको सवारीसाधन प्रदर्शनीमा राखिएको बताए । उनले स्व.राजा महेन्द्रले प्रयोग गरेको सवारीसाधन पनि प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले राजाहरुले प्रयोग गरेका ४० वटा सवारी साधन रहेको उल्लेख गर्दै आगामी दिनमा सबै सवारीसाधनलाई प्रदर्शनीमा राखिने बताए ।
उनले भने, ‘स्व. राजा त्रिभूवनले प्रयोग गरेको गाडी हो, यो फोर्ड क्यानेडियन कम्पनीले निर्माण गरेको हो । राजाले उपत्यकामा शिकार खेल्दा पनि यसलाई प्रयोग गर्नुभएको थियो । हामीले राजाले छोडेर गएपछि विशेष ग्यारेजमा थन्क्याएर राखेका थियौँ । अहिले भौतिक रुपमा मर्मतसम्भार र रङरोदन गरेर यसलाई प्रदर्शनका लागि राखेका हाैं । अर्को गाडी स्व. राजा त्रिभूवनले परिवारको लागि प्रयोग गर्नुभएको गाडी हो । अर्को स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएको गाडी हो । हामीसँग यस्ता ४० वटा गाडीहरु छन् ।’
आजबाट प्रदर्शनमा राखिएका तीनवटा सवारीसाधन स्व. राजा त्रिभूवन र स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएका सवारीसाधन हुन् । एउटा त्रिभूवनले काठमाडौंमा शिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभूवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो ।
त्यस्तै अर्को सवारीसाधन भने स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएको थियो । जसलाई आजबाट नारायणहिटी दरबारमा सर्वसाधारणलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।
Categorized in राष्ट्रिय

