रातो मच्छिन्द्रनाथको पुनःनिर्माण अलपत्र
Janjati Khabar – रासस | २०७७ मङ्सिर २३, मंगलबार
–सुभानु आचार्य
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने हुन्छ । बजारमा ती प्रकारका काठ पाउन नसकिएको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पुरातात्विक महत्वका विगत मन्दिरमा प्रयोग गरिएका ३३ प्रकारका इँटा भेट्यौँ । यसमा अझै एक प्रकारको इँटा खोज्ने र त्यो नपाए खरिद गरेर भए पनि प्रयोग गर्नुपर्ने छ ।” सो प्रकारको काठ र इँटा मन्दिर पुनःनिमार्णमा प्रयोग गर्दा पर्न जाने करालो अर्थात भिरालो आफै मिल्ने र लामो समयसम्म पानी वा घामलेसमेत असर गर्न नसक्ने शाक्यले जानकारी गराउनुभयो । उक्त मन्दिरको एक तला पुनःनिर्माण सम्पन्न भइसकेको छ भने गारो लगाउने काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । अब माथिल्लो तलामा भने इँटा लगाउने र बीचबीचमा काठ राख्ने कामे बाँकी रहेको उहाँको भनाइ छ । यसैगरी सरकारले काठको मूल्य नतोकिदिएका कारण मन्दिर पुनःनिर्माणमा प्रयोग गरिने काठ खरिदमा व्यापारीले जति भन्यो त्यतिनै नगद तिरेर ल्याउनुपर्ने बाध्यता भएको शाक्यले गुनासो गर्नुभयो । मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण दोस्रो तलाको काम अघि बढाउन काठ अभाव भएसँगै आफूहरुले हिजो प्रतिनिधिसभाका सांसद पम्फा भुषाललगायत सम्बन्धित व्यक्तिसँग बसेर छलफल गरेको महानगरपालिका–२२ का वडाध्यक्ष अम्बिराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर पुनःनिर्माणमा आवश्यक इँटा, काठलगायतका बस्तु जोे जसले जहाँबाट झिकाउन सक्छ, त्यहीँबाट ल्याउन पहल गरिने कुरा अघि बढेको छ ।” मुलुकमा फैलिरहेको कोरोना महामारीका कारण मन्दिर पुनःनिर्माणमा बजेट अभाव हुन गए त्यसका लागि पनि केही उपाय अपनाइने कुरा अघि बढेको वडाध्यक्ष शाक्यले जानकारी गराउनुभयो । विसं २०७२ को भूकम्पमा क्षति भएको रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने भनिएको थियो । सो मन्दिरको पुनर्निर्माणमा कसैबाट चासो नदिएपछि २०७७ साल असार २० गते क्षमापूजा गरेर २२ गतेबाट उपभोक्ता समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाखको सम्झौता भएर काम अघि बढेको छ । लगभग एक हजार ५०० वर्ष अघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । केही समय अघि मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदालका साथै २० वटा ढुङ्गाको थाम हाल्ने काम सकियो । मन्दिर पुनःनिर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेशलगायतका वस्तुको प्रयोग भइरहेको समितिले जनाएको छ । झन्डै पाँच वर्षअघि भूकम्प सुरक्षा दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीमा रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो । अहिले यो काम सुस्त गतिमा छ । पाटनको ठूलो उत्सवका साथै हिन्दूलगायत बौद्धधर्मावलम्बी दुबैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो मानिन्छ । यसवर्ष मुलुकमा देखिएको कोभिड कहरका कारण गत भदौ २९ गते दिउँसो ३ बजे मच्छिन्द्रनाथलाई पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो । “लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, लाकेश्वर र बंगद्य अनेकौँ नामले पुकारीने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भएको बुझाइ छ”, वडाध्यक्ष शाक्यले भन्नुभयो, “सबै जगत्को लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लाकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको हो ।” नेपालमा वर्षौं अघिदेखि चल्दै आएको जनश्रुतिअनुसार गुरु गोरक्षनाथले नवनागलाई आशन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुक्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापुले कठिन परिस्थित सहेर मच्छिन्द्रनाथलाई बुङ्मति ल्याएर राखेपछि गोरखनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि पानी परेको बुझाइ रहेको छ । यस्तो परम्परादेखि प्रचलित बुङ्मतिमा हालसम्म मन्दिर पुनःनिर्माण हुन नसक्नु सबै नेपालीको सरोकार तथा चिन्ताको विषय बनेको छ । अहिले मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई हाल बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा र रेखदेख गरिरहेको पुजारी मदन शाक्यले बताउनुभयो । रातो मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ । मच्छिन्द्रनाथलाई उतरायण लाग्दा पाटनको तःबहाल र दक्षिणयन लाग्दा बुङ्मतीको मन्दिरमा छ÷छ महिना राखिने चलन रहेको सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । –––


