STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राससले मैथिली र नेपाल भाषामा शुभारम्भ गरेकामा स्वागत

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन ३०, बुधबार

धनुषा, राष्ट्रिय समाचार समिति ९रासस०ले मङ्गलबारदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेकामा जिल्लास्थित विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन् । मुलुकमै नेपाली भाषापछि बढी बोलिने मैथिली भाषामा राससले समाचार सेवा सुरु गरेपछि मधेस प्रदेशमा खुसियाली व्यक्त गरिएको छ । विसं २०८० माघमा अवधी भाषामा समाचार सेवा थालनी गरेको राससले सोमबारदेखि परीक्षणका रुपमा मैथिली र नेपाल भाषामा समेत समाचार सम्प्रेषण गर्न थालेको छ ।
यसै सन्दर्भमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् ९मिनाप०ले राससको यस ऐतिहासिक कार्यको स्वागत गरेको छ । परिषद्का महासचिव शैलेन्द्र मल्लिकले राससको यस कार्यको स्वागत गर्दै मैथिली भाषा र संस्कृतिको विकासमा राससले थप सेवा शुभारम्भ गरेपछि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   
त्यसैगरी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आफ्नो सेवा आरम्भ गरेको ६३ वर्षको अवधिमा नयाँ इतिहास रच्न रासस सफल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले यस ऐतिहासिक निर्णयले समावेशी लोकतन्त्रको पहरेदार बन्न रासस कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
राजविराजस्थित मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले राससको यो सार्थक प्रयास मैथिली भाषा संरक्षण अभियानका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
मैथिली भाषाका प्राध्यापक तथा वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले राससको यस ऐतिहासिक कदमलाई स्वागत गर्दै राससबाट उत्पादित समाचार प्रयोग गरी राससलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राससको यस प्रयासलाई सफल बनाउन सम्बद्ध सबै सञ्चार माध्यमले मैथिली भाषाको समाचार प्रकाशन र प्रसारण गर्न आवश्यक छ ।”
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले मैथिली भाषामा समाचार सम्प्रेषण गरेर  रासस नेपालका सबै जातजाति तथा भाषाभाषीको प्रतिनिधित्व हुने साझा समाचार संस्थाका रुपमा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउनुभयो ।
यसैगरी, नेवाः दय् दबू, केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै राससले नेपाल र मैथिली भाषामा  समाचार सम्प्रेषण गरेर आफूलाई अब्बल सावित गरेको जनाएको छ । समितिका अध्यक्ष पवित्र बज्राचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समावेशी समाज निर्माण गर्ने अठोटका साथ मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्ने क्रममा राससले सुरु गरेको यो कार्यले ठोस योगदान दिने विश्वास छ । नेपाल एक बहुभाषिक मुलुक भएकाले बहुभाषिकता हाम्रो विशेषता र राष्ट्रियताको आधार पनि हो । यही बहुभाषिकताबीच राष्ट्रिय एकता कायम गर्नु हाम्रो दायित्व हो । राससको यो कदमले उक्त दायित्व निर्वाह गर्नेमा विश्वस्त छौँ ।”–रासस

Categorized in राष्ट्रिय