STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रास्वपाको दोस्रो स्थापना दिवस मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ७, शुक्रबार

काठमाडौँ - सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए ।

रास्वपालाई शुभकामना दिन संसदमा प्रतिनिधित्व भएको सबै जसो दलका नेता ‘घण्टीघर’ पुगेका थिए । दिउँसो १ बजेबाट सुरु भएको चियापान समारोहको सुरुमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए ।

त्यसपछि घण्टीघरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदमा पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको आगमन भयो । रास्वपाको चियापानमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको पनि सहभागिता थियो । रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा चलेको वाकयुद्धले रास्वपासँग कांग्रेसको दुरी बढेको थियो । रास्वपाको चियापानमा कांग्रेसको सहभागितालाई घण्टीघरमा उपस्थिति भएकाहरूले चासोका साथ हेरेको पाइन्थ्यो ।

दिउँसो साढे २ बजेतिर कांग्रेस सभापति शेरबार देउवा, नेता विमलेन्द्र निधि, रमेश लेखक चियापान समारोहमा आइपुगे । रास्वपा सभापति लामिछानेसहितका नेतासँग फोटो सेसनपछि कांग्रेस नेताहरू घण्टीघरबाट बाहिरिए ।

बानेश्वरमा संसदीय दलको बैठक रहेको भन्दै चाँडै निस्किएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले बताएका थिए । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि घण्टीघर पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्तिममा आफ्ना पार्टीका नेताहरूको दलबलसहित रास्वपाको घण्टीघरमा पुगेका थिए । प्रचण्ड, देउवा, माधव नेपाल, खनाल, भट्टराई, राजेन्द्र लिङदेन, सीके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर सबैले रास्वपा कार्यालयमा राखिएको ‘घण्टी’ बजाएका थिए । एमाले रास्वपाले आफ्नो चुनाव चिन्ह ‘घण्टी’ नेताहरुलाई बजाउन लगाएपनि अध्यक्ष ओलीले भने घण्टी बजाउन अस्वीकार गरे । 

रास्वपाको चियापान समारोहमा गाँजा, बाँस र केराबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिएको थियो । उक्त वस्तुको अवलोकन गरे मात्र नेताहरू घण्टीघरबाट बाहिरिने व्यवस्था मिलाइएको थियो । ओलीले नेपाली उत्पादनका विभिन्न स्टलहरुको चासोपूर्वक अवलोकन गरे । त्यसक्रममा ओलीलाई गाँजा, अल्लो लगायतबाट बनाइएका कपडा उपहार दिइएको थियो । त्यस्तै नेपाली उत्पादन च्याउ समेत ओलीलाई उपहार दिइएको थियो । त्यस्तै अध्यक्ष ओलीले केहीबेर स्टलमा राखिएको कपडा बुन्ने तान चलाएका थिए ।

सर्वसाधारणका लागि घण्टीघरको अन्डर ग्राउण्डमा चियापान (मोहीपान)को व्यवस्था थियो । नेताहरू भने सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायतसँग भेटघाट गरेर माथिबाटै बाहिरिन्थे । घण्टीघरबाट बाहिरिँदा मिडियाबाट घेरिएपछि नेताहरुले संक्षप्ति प्रतिक्रिया पनि दिएका थिए ।

Categorized in राजनीति