लकडाउनको मोडल फेरिने संकेत
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १३, मंगलबार
काठमाडौं । टेलिभिजनमार्फत सोमबार साँझ प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरेका छन् । साथै उनले लकडाउनको मोडल परिवर्तन हुने संकेत पनि गरेका छन् ।
सरकारले घोषणा गरेको लकडाउन जेठ २० सम्म छ । प्रधानमन्त्री ओलीले त्यसअघि मोडल परिर्वतन हुने संकेत गरेका छन् । महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गर्ने उनले बताएका छन् ।
सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाउनुका साथै नियन्त्रणको सीमाभित्र रहन सक्ने थप उद्योग सञ्चालनको अनुमति दिइने उनले बताए । ‘काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन–जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ’ उनले सम्बोधनमा भनेका छन् ।
तर, समुदायमा कोरोना संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्ने गरी प्रशासनिक कडाईलाई भने कायमै राखिने भएको छ ।
समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ नयाँ कदमहरु चालिने बताए । महामारीसँग जुध्न सबै सरकारी निकायहरु चुस्त र प्रभावकारी हुनुपर्ने भन्दै उनले एकीकृत ‘कमाण्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको महामारी अहिले फैलिँदो अवस्थामा रहेको र महामारीको रुपमा फैलिनुमा भारतबाट फर्किनेहरुको योगदान रहेको उनले बताए । उनले भारतबाट आएकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन आग्रह गरेका छन् ।
Categorized in राजनीति