ललितानिवासमा जग्गा किनेका ‘पीडित’ नेवारहरु मारमा
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार
काठमाडौं– लामो समयदेखि भ्रष्टाचारको ठूलो काण्ड बनेको बालुवाटारस्थित ललितानिवासमा जग्गा किनी घर बनाएका ३६ जना जग्गाधनीहरु मारमा परेको जानकारीमा आएको छ । उक्त स्थानमा जग्गा किन्ने यी ३६ जनामध्ये २९ जना स्थानीय नेवारहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूल्ठूला अधिकारीविरुद्धसमेत उक्त काण्डमा मु्द्दा दायर गरिसकेको छ ।
यी ३६ जना व्यक्तिले गत २०६३/६४ सालमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग बालुवाटारको जग्गा किनेका थिए । उनीहरुले त्यहाँ जग्गा किनेको समय त्यसलाई एउटा आवास योजनाअनुरुप विकास गरिएको थियो । बालुवाटार आवास नाम दिइएको सो आवास योजनालाई नेपाल सरकारको मालपोत कार्यालय, नापी विभाग र काठमाडौं उपत्यका नगर विकास योजनाले समेत लिखित कागज गरी स्वीकृति दिएका थिए । सरकारका सबै निकायबाट छापसहित स्वीकृति पाइसकेको आवास क्षेत्र भएकाले आफूहरुले त्यहाँ जग्गा किनेको ती जग्गाधनीहरु बताउँछन् । ती मध्ये कतिपयले त्यहाँ घर पनि बनाइसकेका छन् । अहिले घर निर्माणपछि बस्न जाने समय यो जग्गा सरकारी जग्गा हो, भूमाफियाहरुले हिनामिना गरेको भनी जग्गा बेच्ने एवं किन्नेलाई समेत ठग करार गरी कारबाही गरिन लागेकोले त्यहाँ जग्गा किनेका ३६ जना जग्गाधनीहरु अहिले मर्माहत छन् ।
जग्गा किन्न आफूहरुले पहिलेको घर तथा जग्गा बेचेका तथा बैंकमा ऋण लिएका पीडितहरुको भनाइ छ । दुःख गरी किनेको जग्गा अहिले आएर अनियमित तरिकाले किनेको भनी आफ्नो उठीबास गराई सु्कुमबासी बनाउन खोजेको गुनासो उनीहरुको छ । कतिपयले घर बनाइसके पनि बस्न जान डर मानिरहेका छन् ।
आफ्ना समस्याहरु बोकी यी पीडितहरु अहिले नेपाल सरकारका विभिन्न निकाय पुगी दुःख पोखिरहेका छन् । यसक्रममा उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर एवं सांसदहरु भेटी आफ्ना समस्या अवगत गराइसकेका छन् ।
ललितानिवासमै जग्गा किनेका कारण सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल पनि विवादमा परेका थिए । तर अख्तियारले पौडेललाई कारबाही गरेको छैन । आफूले किनेको जग्गा सरकारलाई फिर्ता गरेको कारण उनीविरुद्ध मुद्दा चलाउनु नपर्ने जिकिर अख्तियारको छ । यसै विषयलाई लिएर अख्तियारसमेत विवादमा परेको थियो । तर त्यहीं जग्गा किनेका अन्य सर्वसाधारणलाई भने आफ्नो जीवनभरको कमाइ जग्गामा लगानी गरेकाले विष्णु पौडेलले जस्तो चुपचाप सरकारलाई दिनसक्ने अवस्था छैन भनेका छन् ।
Categorized in राष्ट्रिय