STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाखेनाच संरक्षणमा नेवार समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न अवसरमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवापुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो । त्यसैले हराउँदै गएको लाखेनाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह यसको संरक्षणमा जुटेको छ । नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुश्माबजारमा लाखेनाच देखाउन शुरु गरिएको समूहका अध्यक्ष तेजप्रसाद श्रेष्ठले बताउनुभयो । “पहिले–पहिले गाउँगाउँमा पनि लाखेनाच देख्न पाइन्थ्यो । पछिल्लो समय सदरमुकाममै पनि लाखे देख्न मुस्किल छ, लोप हुन लागेको छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण गर्न हरेक वर्ष यसरी नै लाखेनाच गर्दै आएका छौँ, अरूले सहयोग गर्लान्, यसो भन्लान् भनेर होइन, हामी रहेसम्म लाखे हराउन दिन्नौँ ।” सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन् । स्थानीय राम श्रेष्ठका अनुसार नागपञ्चमीको दिनदेखि शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । जनैपूर्णिमासम्म लाखेनाच तथा त्यसपछि रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा र हनुमान नाच प्रदर्शन गरिने उहाँले बताउनुभयो । “हामी हरेक दिन लाखे नचाउँछौँ । रोपाइँजात्रामा रोपाइँ गर्दै, गाईजात्रा हास्यव्यङ्ग्यसहित गाई बनाउँदै, बाघजात्रामा बाघहरूको नाच र लडाइँ देखाउँदै र हनुमान नाचमा हनुमान बनाएर हनुमानका व्यवहारहरू देखाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यी नाचहरूको संरक्षणका लागि अहिलेका युवा र केटाकेटीलाई पनि लाखे बनाएर नचाउँछौ।” हरेक दिन लाखेनाच प्रदर्शन गर्दा खर्च हुने भएकाले कोषमार्फत लाखे नचाउने गरिएको छ । धेरै वर्षअघि स्थापना भएको कोषमा करीब रु २० लाख रहेको र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ । उक्त कोषबाट लाखेनाच मात्र होइन, नेवार समुदायभित्रका कोही पनि व्यक्तिलाई अप्ठ्यारो परेको बेलामा आर्थिक सहयोग पनि गर्ने गरिएको छ ।
Categorized in सिनेमा