STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषध दुव्र्यसनविरुद्धको अभियानका लागि महोत्सव

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १५, बुधबार

चितवन, नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो ।
 
    महोत्सव मङ्सिर ६ गतेदेखि १६ गतेसम्म हुनेछ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ युनाइटेडका अध्यक्ष रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट आर्थिक स्थिति कमजोर भएका ३० जना महिला तथा पुरुष लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचारको लक्ष्य लिइएको उहाँले बताउनुभयो । 
 
    श्रेष्ठका अनुसार महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीलाई सहभागी गराई लागुऔषध विरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रम सञ्चालन गरिने छन् । लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने मुख्य उद्देश्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

    महोत्सवमा दुई सय ५० भन्दा बढी स्टलहरु रहने मूल समिति संयोजक महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्टल बुकिङ खुला भइसकेको छ । महोत्सव परिसरमा नै सचिवालय स्थापना गरिने र त्यहीबाट इच्छुक उद्योगी व्यवसायीले स्टल बुकिङ गर्न सक्ने उहाँले जानकारी दिनुभयो । यसले घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
 
    महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सहसंयोजक पिङ्गलराज पन्तले बताउनुभयो । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिने उहाँले बताउनुभयो ।
 
    ख्यातिप्राप्त कलाकारले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । दैनिक पाँच हजारका दरले महोत्सव अवधिभर ५० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न रू ५७ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले जानकारी दिएको छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार पाँच सय जना लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गरिसकेको छ ।

Categorized in राष्ट्रिय