लुम्बिनी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २८, बिहिबार
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेको छ ।
४२ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसामु नयाँ सरकार गठनको दाबी पेस गरेको हो ।
लुम्बिनीमा विपक्षी गठबन्धनको बहुमत रहेकाले बिहीबार नै नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै सोनामले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्मा पहिलो चरणमा कांग्रेसबाट दाङका सांसद डिल्लीबहादुर चौधरी र जसपाबाट कपिलवस्तुका सहश्राम यादव मन्त्री बन्ने सम्भावना छ । स्रोतका अनुसार चाैधरीले आन्तरिक मामिला तथा कानुन र यादवले भाैतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मा पाउने छन् ।
यस्तै, माओवादी केन्द्रबाट दाङकी दामा शर्मा र इन्द्रजित चौधरी तथा सुदर्शन बराल मन्त्री बन्ने चर्चा छ । बराल पूर्व सामाजिक विकासमन्त्री हुन् । कांग्रेसबाट वीरबहादुर राना, निर्मला क्षेत्री र रमा अर्यालको पनि मन्त्री बन्ने चर्चा छ ।
जनता समाजवादी पार्टीबाट भने तीनै जना मन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलका नेता सहश्राम यादव पहिलो चरणमै मन्त्री बन्नेछन् भने बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा विश्वासको मत पाएपछि मन्त्री बन्नेछन् । तीनमध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको स्रोतको दाबी छ ।


