लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र १३, शुक्रबार
नेवाः साधना कला केन्द्रले लोक गायक रत्न बेहोसी बज्राचार्यलाई उहाँको ९० औं जन्मदिनको अवसरमा " नेपालरत्न सम्मान "प्रदान गरिएको छ । नेपाली र नेपालभाषाको गीतसंगीतमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको आयोजक संस्थाका सल्लाहकार पौभाः साय्मिले बताउनुभयो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ कार्यक्रममा उहाँलाई सम्मान गरेको हो ।
सो सम्मान कार्यक्रममा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरे,प्रसिद्ध गायक जुजुकाजि रन्जित, संगीतकार राजु सिंह लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
सर्जक बेहोसीलाई ललितपुर वडा १६ को तर्फबाट ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कार दिइएको थियो । उहाँले १२ वर्षको उमेरदेखि नाटक र संगीतको विधामा आफ्नो कला प्रस्तुत गर्नुभएको छ । विक्रम संवत् २०१० सालदेखि नेपाली र नेपालभाषाको गीतसंगीतको श्रीवृद्धि, विकास तथा समृद्धिको क्षेत्रमा बेहोसीले योगदान दिंदैआउनु भएको छ । उहाँले पहिलो पटक २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण गराउनु भएको थियो । १७ जना उम्मेदवारमध्ये उहाँ एकल गायकको रुपमा रेडियो नेपालमा स्वर परीक्षणमा उत्तीर्ण हुनुभएको थियो । सोही दिन रेडियो नेपालमा प्रत्यक्ष प्रसारण मार्फत उहाँको गीत प्रशारण भएको थियो । त्यो बखत रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेर प्रत्यक्ष प्रशारण मार्फत गीत गाउने नेपालकै थोरै मात्र गायक हुनुहुन्छ ।
उहाँको समकक्षीको रुपमा स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य, गोल्डेन भ्वइस अफ नेपाल प्रेमध्वज प्रधान, गायक तथा वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, भक्तराज आचार्यहरु हुनुहुन्थ्यो । नेपाली आधुनिक गीतसंगीतका उहाँहरु दोस्रो पुस्ता हुन् । त्यसअघि मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ, बच्चु कैलाश लगायतका संगीत साधकहरु पहिलो पुस्ताका गायक हुन् । बेहोसीले नेपालभाषामा ५० र नेपाली भाषामा कम्तिमा १० वटा गीत गाइसकेका छन् । उहाँले गाएका र रचना गरेका दर्जनभन्दा बढी गीतहरू अझै पनि क्यासेटमा सुरक्षित छ ।
स्रोत - केके मानन्धर ।
Categorized in साहित्य-कला

