STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले भवन बनाइसकेकाले अबको स्वामित्व निकुञ्ज विभागको हुने डा लामिछानले बताउनुभयो । उपकरण खरीद गर्ने कामदेखि व्यवस्थापनको पाटो निकुञ्ज विभागले गर्ने र राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा सहयोग गर्ने उहाँको भनाइ छ । घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि यहाँ नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको थियो । विसं २०७१ फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यबाट शिलान्यास भएको सो अस्पताल चार वर्षमा निर्माण सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार आगामी आवमा अस्पताल पूर्णरूपमा सञ्चालनमा आउनेछ । “अस्पताल संवेदनशील विषय भएकाले सञ्चालनमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “वन्यजन्तु अस्पताल भएकाले व्यवस्थापनमा जटिलता हुन्छ, अर्को आर्थिक वर्षबाट अस्पतालले सेवा दिन शुरु गर्छ ।” उपमहानिर्देशक भट्टराईले वन्यजन्तुको कतिपय औषधि नेपाल सरकारले अर्को देशको सरकारलाई आग्रह गरेर ल्याउनुपर्ने भएकाले ढिलाइ हुन पुगेको बताउनुभयो । अस्पताललाई चाहिने कर्मचारी लोकसेवामार्फत ल्याउनुपर्ने भएकाले अस्पतालले तोकिएको समयमै सेवा शुरुआत गर्न कठिन भएको उहाँको भनाइ छ । अस्पतालमा चार चिकित्सक र सात प्राविधिक बस्ने कोठा, एक्स–रे कक्ष, प्रयोगशाला र उपचार कक्ष रहने बताइएको छ । अस्पतालले हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराउने लक्ष्य छ । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।
Categorized in राष्ट्रिय