STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै पुगे जनप्रतिनिधि

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १२, शनिबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता  वितरण गर्न उहाँहरुको घरदैलोमा पुग्नु भएको छ ।  मेयरको हातबाट भत्ता  थाप्न पाउँदा त्यहाँ  आउनु भएकी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा  लामाको मुहारमा बिचित्रको चहक छाएको थियो ।

बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८० वर्षीय दिपकराज पुडासैनीको पनि मुहारमा निकै चमक थियो । एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले यो भत्ता कसैलाई दिने होइन भन्दै श्रीमती बाथ रोगी  भएकोेले उनको लागि  नियमित औषधी  यहि पैसाले औषधी किन्ने हो भनि भन्नु भयो ।

यस्तै गरी वडा नम्बर–१८ नरदेवीमा भत्ता थाप्न आउनु भएका ८८ वर्षीय इन्द्रलाल महर्जनको पनि खुशी लामा र पुडासैनीसँगै मिल्दो–जुल्दो छ । ८२ वर्षीया आशमाया महर्जनसँगै भेटिनुभएका इन्द्रलालले महानगरले एकमुष्ठ दिएको १२ हजार विशेष भत्ताले नियमित सेवन गर्दै आएको औषधी किन्ने, फलफुल खाने बताउनुभयो । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले आफ्नो चुनावी घोषणापत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गर्नुभएको थियो । महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ ।

यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।

उहाँले कोही पनि जेष्ठ नागरिकले मेरो कोही छैन भन्ने महसुस गर्नु नपरोस् भनेर यो भत्ता प्रदान गरेको पनि जानकारी दिनुभयो ।  
उहाँले जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि बिताएको भन्दै पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस् भनेर भत्ताको व्यवस्था गरेको बताउनुभयो । मेयर शाक्यले परिवारका लागि मात्रै होइन देशका लागि समेत विशिष्ठ योगदान गरेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सानो सहयोग गरेर काठमाडौँ महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरेको स्मरण गराउनुभयो । 

काठमाडौँ महानगरपालिका वडा नम्बर–९ की वडा सदस्य श्रृजना भेटवालले वडाका सबै वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमै पुगेर भत्तासँगै फलफुल वितरण गरेको जानकारी दिनुभयो । कोभिड कहरका कारण बढी भिडभाड नहोस भनेर  उहाँहरुको टोल–टोल र घर–दैलोमै पुगेर यस प्रकारको भत्ता वितरण गरिरहेको कुरा वडा सदस्य श्रृजना भेटवालले  बताउनु भयो ।  गत  बर्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ महिला गरी ७ हजार ५ सय ५७ जनालाई महानगरपालिकाले यस्तो प्रकारको भत्ता उपलब्ध गराएको थियो ।  यो भत्ता सामाजिक सुरक्षा भत्ता बाहेकको भत्ता हो । महानगरमा गएको बर्ष ४९ हजार ६ सय ८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए ।

Categorized in उपत्यका