STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वर्षा राउतको अभिव्यक्तिको चौतर्फी विरोध, मागिन् माफी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडौं - नायिका वर्षा राउतको अभिव्यक्तिले सामाजिक संजाल तातिरहदाँ सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् । उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’
अभिनेत्री भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

स्पष्टिकरणमा नायिका वर्षाले लेखेकी छिन्-
 सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन । संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ । हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ । २५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । विवादित अभिव्यक्ति दिएपछि वर्षामाथि गालीकाे वर्षा भइरहेको छ। एक जना लेख्छन्, ‘यहाँ देशको छ चिन्ता, तिमी साथी साथी भन्छ्यौ।’ कति सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन्। त्यस्तै, अर्का फेसबुक प्रयोगकर्ता भन्छन्, ‘यो अटेन्सन सिकरको पराकाष्ठा हो।’ भारतले नेपालको लिम्पियाधुरासहितको सीमा अतिक्रमण गरेपछि सरकारले नयाँ नक्सा पनि सार्वजनिक गरेको छ। यसअघि नेपाली नायिक मनीषा कोइरालाले आफ्नो भूमि फिर्ताका लागि नेपाल सरकारले गरेको पहलको समर्थन गरेपछि भारतीय मिडियाको निशाना बनेकी थिइन्। (भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोला)
Categorized in सिनेमा