STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । 
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ । 
दुई वर्षअघि सम्म एक गाग्री पानी लिन एक घण्टाको बाटो हिँडेर त्यतीकै समय लाइनमा कुर्नुपर्ने दुर्गम ग्रामीण भेगका घरघरमा खानेपानीको धारा निर्माण भएका छन् । पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी बनेको छ । नजीकको बजार वा सदरमुकाम आउन घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँका बासिन्दाको घरअगाडि नै मोटरबाटो पुगेको छ । ठाउँठाउँमा झोलुङ्गे पुल बनेका छन् भने सिँचाइका लागि नहर वा कुलो निर्माण गरिएको छ । 
सचिव खोज्दै दुई–तीन दिनसम्म सदरमुकाम बेनीबजारमा धाउनुपर्ने जनताले आफ्नै वडामा जनप्रतिनिधि र कर्मचारी पाएपछि सुविधा महसुस गरेका छन् । विकासका यी सबै मापकहरु आफ्नै गाउँठाउँमा प्राप्त गर्न पाउँदा विकट गाउँका जनतामा उत्साह थपिएको हो ।
म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिकामा धमाधम विकासका कामले तीव्र गति पाएको छ । गाउँपालिका–५ मल्कावाङ्ग र वडा नं ६ मराङ्गमा पूर्वाधार विकास निर्माणका योजनाहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् । भौगोलिक रुपमा विकट गाउँपालिकाका रुपमा रहेको यस पालिकाका सबै जस्तो वडामा  आव २०७५र७६ का योजनाहरु ७० प्रतिशत सम्पन्न भइसकेका छन् । गाउँपालिकाको अनुगमन समितिले सबै वडामा सञ्चालित योजनाहरुको अनुगमन शुरु गरेको छ । 
गाउँपालिकाको पनि विकट बस्ती मल्कबाङ्ग र मराङ्गमा सञ्चालित योजनाको अनुगमन गरिएको हो । मल्कावाङ्गमा सञ्चालित दश वटा योजना र मराङ्गमा सञ्चालित २५ वटा योजनाको अनुगमन गरिएको हो । दुवै वडाका योजनाको ८० प्रतिशत काम सकिएको गाउँपालिकाका प्रवक्ता एव्म अनुगमन समितिका सदस्य झकबहादुर छन्त्याले जानकारी दिनुभयो । 
  प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट विनियोजित बजेटले मराङ्गको बेशी आरवाङ्ग भेडिखाल्ट हुँदै रङ्घुगङ्गा गाउँपालिका–६ ठाडाखानीको उमेको डाँडामा जोड्ने मोटरबाटो, बेशी मराङ्ग मलम्पार मोटरबाटो, बुल विद्युत् विस्तार, मराङ्ग खोला झोलुङ्गे पुल निर्माण, बहुउद्देश्यीय भवन निर्माण अर्गालादेखि बेशी पुग्ने सडकको पहाड फुटाउने काम भइरहेको छ । 
गाउँपालिकाको रु ३० लाखले उपभोक्ता समितिद्वारा बेशीदेखि कुम्रीसम्मको तीन किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ । मराङ्गमा सङ्घीय सरकारको सहयोगमा विद्युत्मार्फत केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार, बेशीमा नदी नियन्त्रण, खेलमैदानलगायत निमार्णका कार्य भइरहेको र धेरै जस्तो योजना सम्पन्न भएको वडाध्यक्ष राजराम सुवेदीले बताए । गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत गौरवको योजनाका रुपमा हामीले धवलागिरि मालिका रघुगङ्गा गाउँपालिकाको उमेको डाँडासम्मको सडकका बारेमा जानकारी गराएका छौँ, अबको आवमा चक्रपथका रुपमा यसलाई अगाडि लैजान सबैबाट सहयोगको अपेक्षा भएको अध्यक्ष सुवेदीको भनाइ छ ।
छन्त्याल र दलित जातिको बसोबास रहेको मल्काबाङ्गमा पनि गाउँपालिकाको अनुदानद्वारा नै रु १९ लाखको सामुदायिक भवन निर्माण शुरु भएको छ । विद्यालय छानो छाउने योजना दलित बस्तीमा खेलमैदान, तारजाली, भेडिखाल्टमा गत आवको योजनको भवनलाई पूर्णता दिइएको छ । मलम्पारमा एक वडा सामुदायिक भवन, गाउँ घर क्लिनिक खानेपानी ग्याबिन र जाली लगाउने काम अन्तिम चरणमा पुगेको छ, अध्यक्ष खर्ककुमारी छन्त्यालले बताएकी छन् । 
भवन डिभिजन कार्यालयबाट बहुवर्षीय योजनाअन्तर्गत एक वर्षदेखि निर्माणाधीन मल्कावाङ्ग स्वास्थ्य चौकीको भवन रोकिएको छ । खोइ किन हो ठेकेदारले पैसा नपाएको गुनासो गरेका छन् । भवन अलपत्र अवस्थामा छ । यसलाई पूर्णता दिनका लागि सम्बन्धित कार्यालय र ठेकेदारलाई ताकेता गरेका छौँ, अन्य योजनाहरु उपभोक्ता समितिद्वारा सबै अन्तिम चरणमा रहेको अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
ग्रामीण भेगमा कागजी काम मात्र गरेर योजना सम्पन्न हुने साबिकका गाविसमा पनि स्थानीय सरकार आएपछि आफ्नो गाउँ बनाउनका लागि काम गर्नुपर्ने रहेछ भन्ने आभास जनताले गरेको स्थानीयवासी दलमान छन्त्यालको भनाइ छ । स्थानीय स्तरमा अहिले पनि जनश्रमदान गर्ने स्थानीयवासी नआइदिँदासमेत योजना प्रभावित भएको उनी बताउँछन् । पहिलाजस्तो बानी लागेकाले परिवर्तनको अनुभूति दिलाउने कार्यक्रम सञ्चालन गर्न निकै गाह्रो भएको छन्त्यालको भनाइ रहेको छ ।
अब सररर  गाडीमा मालिकाको धुरी
म्याग्दीको प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल मालिका धुरीको नजीकै मोटरबाटो पुगेपछि बुद्धपूर्णिमाको दिन भाकल र पूजा गर्न मालिका मन्दिरमा जाने भक्तजन अब मोटरमा चढेर जान पाउने भएका छन् ।
मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि मालिका गाउँपालिकालाई सडक सञ्जालसँग जोडेको हो । मालिका–७ बिमबाङसम्म पुगेको सडकलाई विस्तार गरी मालिका धुरीको फेदीमा रहेको नागिथलासम्म पुर्‍याइएको छ । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट अहिलेसम्म करीब सात किलोमिटर नयाँ ट्र्याक खन्ने काम सकिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । गाडीबाट झरेर करीब ४० मिनेटको पैदल यात्रापछि प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा पुग्न सकिन्छ ।
समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिका धुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि गाउँपालिकाले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा समेत जोड दिएको अध्यक्ष रोकाको भनाइ छ । सत्तल, अप्ठ्यारो ठाउँहरुमा रेलिङ, पदमार्गलगायत पूर्वाधार निर्माणमा तीव्र गति दिइएको उहाँले बताउनुभयो । 
उहाँका अनुसार अन्य पर्यटन पूर्वाधार निर्माणका लागि चालू आवकै लागि गाउँपालिकाले थप रु १५ लाख बजेटसमेत विनियोजन गरेको छ । म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिका धुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृश्य अवलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृश्य मनमोहक देखिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । 
धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको मालिका धुरीमा पुजा गरेमा मनोकामना पूरा हुने धार्मिक मान्यतासमेत रहेको छ । यहाँ चण्डी पूर्णिमा, बुद्ध पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजा तथा भाकल गर्नका लागि टाढाटाढाबाट भक्तजन आउने गरेका कृषि प्राविधिक शिक्षालय विमका संयोजक करन कँडेलले जानकारी दिनुभयो । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिवल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंवदन्ती छ ।
Categorized in राष्ट्रिय