STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ ः प्रम

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।” नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक छ भन्नुभयो । नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उहाँले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गर्नुभयो । दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकी शहरमा भएको दुःखद घटना विश्वका लागि अन्तिम दृष्टान्त बनोस् र इतिहासमा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै उहाँले भन्नुभयो, “हामी सदैव शान्तिको पक्षमा छौंँ, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौँ ।” करीब ४४ वर्षअघि स्थापित एशोसिएशन जाइकामार्फत जापानमा गई अध्ययन, तालीम र भ्रमण पूरा गरी फर्केका विभिन्न क्षेत्रका पेशागत र व्यावसायिक व्यक्ति संलग्न गैरराजनीतिक र गैर नाफामूलक सामाजिक संस्था हो । यसले जापानी राजदूतावास र जाइका नेपालसँग निकटतम सम्बन्ध राखी नेपाल जापानबीचको मित्रतालाई सुदृढ बनाउँदै विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन र तालीमका क्रममा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न एशोसिएशनका सदस्यलाई आग्रह गर्नुभयो । जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको असाकुमाले जाइकाले नेपालको जनशक्ति क्षेत्रमा गर्दै आएको सहयोग कार्यक्रमबारेमा जानकारी दिँदै एशोसिएशनले विकास र सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्नुभयो । एशोसिएशनका अध्यक्ष डा रामचन्द्र भुसालले जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा छ दशकदेखि निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै जापानले हजारौँ नेपालीलाई अध्ययन र तालीम अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा योगदान गरेको बताउनुभयो । महासचिव शान्तिलक्ष्मी शाक्यले एशोसिएशनले नेपाल–जापानबीचको सम्बन्धमा सेतुको काम गर्दै आएको बताउनुभयो । सो अवसरमा एशोसियशनको वार्षिक प्रकाशन ‘मिलन’ विमोचन गरिएको थियो ।
Categorized in राष्ट्रिय