विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १०, शुक्रबार
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा आज यहाँ विजयोत्सव मनाएइँदै छ ।
सन्देशमा आजको दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएको जनाइएको छ । “आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो । त्यसैले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण छ । नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर युद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।” सन्देशमा उल्लेख छ ।
Categorized in राष्ट्रिय


