STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विज्ञान सडक मेला शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले  समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, उद्योग, जलस्रोत, पर्यटन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्ट ले आज आयोजना गरेको ‘विज्ञान सडक मेला –२०७६’ को उद्घाटन गर्दै कावा प्रधानमन्त्री पोखरेलले यी पाँच क्षेत्रमा वैज्ञानिकलाई विशेष योगदान दिएर अघि बढ्न आग्रह गर्नुभयो । 
“आजको यो २१ औँ शताब्दीमा यी सम्पूर्ण विषयलाई समेटेर वैज्ञानिक ढङ्गले योजना अघि बढाउनुपर्ने छ”, पोखरेलले भन्नुभयो, “वैज्ञानिकहरुले आफूहरुबीच यी विषयमा छलफल गरी मन्त्रालयसँग ज्ञान र अनुभव आदानप्रदान गर्न जरुरी देखिन्छ ।” 
उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अस्थिरताका कारण केही वर्ष समस्यामा परेको विज्ञान र प्रविधि क्षेत्रलाई विकास गर्न नेपालमा ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामाजिक शिक्षा लागु गर्नुपर्ने बताउनुभयो ।  “ रक्षा मन्त्रालयले नवप्रवत्र्तनलाई उच्च प्राथमिकतामा राखेको छ”, रक्षामन्त्री पोखरेलले थप्नुभयो, “नाष्टले थेग्न र पूर्ण गर्न सक्ने योजना बनाएर मन्त्रालयमा आएमा सहयोग गर्नेछु ।” विदेशमा रहेका नेपाली वैज्ञानिकको अनुभव आदनप्रदान गराउन नाष्टले जोड दिनुपर्ने उहाँले बताउनुभयो । 
सो अवसरमा नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नाराका साथ नाष्ट अघि बढ्दै गर्दा वैज्ञानिक र विज्ञानको आविष्कार र  अध्ययनअनुसन्धानबारे जानकारी आदानप्रदान गराउन उक्त मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “सो मेलाले नर्सरीदेखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई विशेष ध्यानमा राखेको छ”, श्रेष्ठले भन्नुभयो, “कृषि, पर्यटनलगायतका अन्य तीन योजना अघि बढाउन नाष्टले सहयोगी हातहरुको खोजी गरिरहेको छ ।” नाष्टले नेपालमा इमेल भित्र्याउनेदेखि सानो भूउपग्रह न्यानो स्याटलाइट निर्माणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । 
नाष्टले विज्ञान शिक्षालाई प्रोत्साहन गर्न उत्कृष्ट विज्ञान शिक्षा, विज्ञान शिक्षक, महिला वैज्ञानिक पुरस्कारलगायत विज्ञानको कूटनीतिलाई अन्तरराष्ट्रियस्तरमा अघि बढाउने योजना तथा फूल नफल्ने वनस्पतिको सङ्कलन गरी अघि बढाएको परियोजना ‘फ्लोरा अफ नेपाल’ लाई द्रुत गतिमा लैजाने जनाइएको छ ।  
शिक्षा मन्त्रालयका सचिव कृष्णराज बिसीले विज्ञानको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्मीलाई नेपालमै बसेर काम गर्ने वातावरण तयार गर्न मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । सचिव बिसीले भन्नुभयो, “मन्त्रालयले वैज्ञानिकलाई काममा प्रेरणा गर्न विज्ञान तथा प्रविधि नवप्रवत्र्तन कोष, अनुसन्धान केन्द्र, पूर्वाधारशाला र  आवश्यक औजारको व्यवस्था, प्रयोगात्मक शिक्षा, विद्यालयहरुमा सूचना प्रविधिको प्रयोगशालाका साथै थप सामग्री उपलब्ध गराउने कार्यक्रम तर्जुमा भइसकेको छ । ” 
नाष्टका वरिष्ठ प्रवद्र्धन महाशाखा प्रमुख लुना बज्रले मेलामा ललितपुरका १४ तथा  काठमाडौँ र भक्तपुरका एकएक गरी १६ क्याम्पस र  ३६ विद्यालयलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो ।  मेलामा नाष्टले संरक्षण गरेको २०० बढी वनस्पति, नेपालका विभिन्न क्षेत्रमा पाइने औषधिजन्य वनस्पति प्रयोग गर्ने विधि, मानिस र जनावरमा लाग्ने रोग, नेपालमा भएको वैज्ञानिक विकास, भूउपग्रह, ग्रामीण क्षेत्रमा भएको विद्युतीय विकास, जलवायु परिवर्तन, भूकम्पीय मापन आदिबारे जानकारी दिइएको छ । 
मेलामा नेपाल कृषि अनुसन्धान परिषद्, वनस्पति विभाग, त्रिवि माइक्रोबायोलोजी शिक्षण विभाग, खानी तथा भूगर्भ विभाग, बायोटेक्नोलोजी, नेपाल पोलिमर एशोसियशन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आदिले भाग लिएका छन् । कार्यक्रममा राखिएका वस्तुको जानकारी दिन प्रत्येकमा वर्णनकर्ताको व्यवस्था गरिएको छ । दुईदिने मेलामा ५० कक्ष छन् ।
Categorized in राष्ट्रिय