विद्यालय निर्माण सम्बन्धी सम्झौता
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १४, मंगलबार
जिरी नगरपालिका–६ स्थित जिरी माविको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।
चीन सरकारको रु एक अर्ब १७ करोडको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सो सम्बन्धी आज भएको सम्झौतापत्रमा केन्द्रका महानिर्देशक बाबुराम पौडेल, चिनियाँ राजदूतावासका कन्सुलर झाङ्ग फान र तिब्बत इन्टरनेशनल एक्सचेञ्ज सर्भिसकी विन झेनले हस्ताक्षर गर्नुभयो ।
नेपालले छनोट गरेका १० वटा विद्यालय भवन चीन सरकारले बनाउने सन् २०१३ मा भएको सम्झौताअनुसार सो भवन निर्माण हुन लागेको केन्द्रका महानिर्देशक पौडेलले बताउनुभयो ।
उहाँले नेपालको शिक्षा क्षेत्रको विकासका लागि चीनले ठूलो सहयोग पु¥याइरहेको उल्लेख गर्दै नेपालको विकास र समृद्धिमा चीन सरकारको साथ र सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।
कन्सुलर फानले कुनै पनि देश विकासको महत्वपूर्ण आधार शिक्षा भएको बताउँदै नेपालको शिक्षा क्षेत्रको गुणात्मक विकासका चीन सरकारको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो भवन आगामी २८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आजैदेखि भौतिक पूर्वाधार निर्माणको काम शुरु हुने जिरी माविका प्रधानाध्यापक केशवकुमार कार्कीले बताउनुभयो ।
भवन निर्माणका क्रममा आवश्यक सामग्री, प्राविधिक टोली र जनशक्ति चीनबाटै आउनेछन् भने नेपाल सरकारले जमीन, पानी, बिजुली र सडक पु¥याउनुपर्नेछ ।
कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत छन् । चीन सरकारले हिमाली आवासीय विद्यालय प्रोजेक्टअन्तर्गत नेपालमा बनाउने १० विद्यालयमध्ये यो पनि एउटा हो ।
Categorized in राष्ट्रिय


