विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।
सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्यो । कांग्रेससहित विपक्षी सांसदहरु भने मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रहे ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।
काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससहितका सबै दललाई १६ महिनाको अवधिमा सरकारका तर्फबाट गरेको कामलाई आधार बनाएर समर्थन गर्न आग्रह गरे।
प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर विश्वासको मत दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजी गरिरहेको छ।
‘विश्वासको मत दिनुस्। राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्। आउने दिनमा देश र जनताको पक्षमा दृढताका साथ काम गर्ने अवसर मिल्नेछ,’ प्रचण्डले भने।
मत नदिन काँग्रेसको ह्विप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको छ ।
सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
Categorized in राजनीति

