STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपद जोखिम व्यवस्थापनबारे प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १५, बिहिबार

विपद जोखिम व्यवस्थापनबारे प्रदर्शन यूएनडिपि, युरोपियन यूनियनको सहयोगमा सञ्चालित नेपालको शहरी क्षेत्रको बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि परियोजनाको स्थानीय कार्यान्वयन साझेदार फ्रेन्डस सर्भिस काउन्सिल नेपाल र ललितपुर महानगरपालिका को तत्वावधानमा ललितपुर वडा १९ मा एक बृहत प्रदर्शनी सम्पन्न भएको छ । घरायसी प्रयोगमा रहेका ग्यास सिलिण्डर आगलागीका विभिन्न कारण मध्ये एक रहेको हुन्छ । त्यसमा पनि दमकल नपुग्ने साघुँरो ठाउँमा यसले ठूलो क्षति पुर्याउने गर्दछ । खाना पकाउँदा पकाउँदै ग्यास सिलिण्डर लिक भएर आगो लागेको अवस्थामा के गन सकिन्छ? घरमा भएको आगलागी व्यवस्थापनकालागि के गर्न सकिन्छ? त्यसमाथि यस्तै बेला हुनसक्ने सवारी दुर्घटनामा के गर्न सकिन्छ? यस्ता प्रकारका विपद् जोखिम व्यवस्थापनको लागि समुदायमा सचेतना बढाउन ललितपुर महानगरपालिकाको १९ वडामा कृतिम घटना अभ्यास गरिएको छ । बुधवार १९ वडाको बलिम्ह टोेलमा गरिएको उक्त कृतिम घटना अभ्यासमाका क्रममा ग्यास सिलिण्डर र चुल्होको दूरी ९ फीट रहनुपर्ने जस्ता जानकारी प्रदान गरिएको थियो । आगलागीमा आत्तिनु नै थप दुर्घटनाको कारण हुने जनाउँदै सामान्य अवस्थामा हातैले वा भिजेको बाक्लो कपडाले पनि आगो नियन्त्रण गर्न सिकाइएको थियो । त्यसबाहेक सम्भव भएसम्म प्रत्येक घरमा ‘फायर एक्टिङग्युसर’को महत्व दर्शाउँदै आगो नियन्त्रण तरीकामा सहभागी टोलवासीलाई समेत अभ्यास गर्न लगाईएको थियो । कृतिम घटना अभ्यासमा स्थानीय रेडक्रसका स्वयंसेवीहरु घाइते उद्धार तथा व्यवस्थापन कार्यमा व्यस्त देखिएका थिए भने भास्सरा बिद्यालय र पूर्णचण्डी बोर्डिंग स्कूलका बिद्यार्थीहरु आगलागीमा घाइतेका भूमिकामा देखिएका थिए । यस्तै बेला हुनसक्ने सवारी दुर्घटनाको अभ्यासमा सहभागी एक स्थानीयले भने, 'यो अभ्यासले आत्तिएको अवस्थामा हुने दुर्घटनासँगै यस्तो अवस्थामा आफूले वडावासीको नाताले गर्नुपर्ने कार्यबारे पनि थप स्पष्ट बनाईदिएको छ, हेर्ने दर्शक समुदायले पनि निकै ब्यवहारिक ज्ञान पाएको हुनुपर्छ ।' कृतिम घटना कार्यक्रम व्यवस्थापनमा १९ वडाका वडाध्यक्ष बिनोद ताम्रकारका संयोजनमा वडास्तरीय जनशक्तिसँगै सशस्त्र प्रहरीका कल्याण खड्काको नेतृत्वमा ४ जना, रेडक्रसका प्रविण श्रेष्ठ र महानगरपालिका दमकलका तर्फबाट नरेशजंग कुँवर लगायतका टोली समेत रहेको थियो । 'मूलभूत रुपमा विपद जोखिम न्यूनीकरणकालागि आवश्यक आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धिकालागि समुदायको सचेत समन्वय बिकास गर्न यो कार्यक्रम आयोजना गरेका हौं,' १९ वडाका वडाध्यक्ष बिनोद ताम्रकारले भने, 'अर्को सचेतनाको कार्यक्रम ईतापूखुमा चाँडै आयोजना गर्देछौं ।' वडा १९ मा विपद व्यवस्थापन समितिको जोखिम व्यवस्थापन योजनालाई कार्यन्वयन गर्न युवाहरुलाई प्राथमिक उपचार तालिम दिलाईएको बताउँदै उनले विभिन्न महिला समूह, युवा समूहका स्वयंसेवक तयारीसँगै भास्सरा बिद्यालयका बिद्यार्थीहरुसँग पनि व्यवहारिक सहकार्य थालिएको जानकारी दिए । यसकालागि वडास्तरीय बजेट सहित करीव ५१ हजार रुपैयाको लागत रहेको बताईएका छ । महानगरपालिकाकालागि गत पुषमा तय भएको परियोजना अन्तर्गतका प्रमुख ३ उद्धेश्यहरुमा समुदाय तथा नगरपालिका स्तरमा शहरी विपद् जोखिम व्यवस्थापनमा सचेतना अभिबृद्धी र समुदायलाई सशक्तिकरण गर्ने रहेको कार्यक्रमका सिमुलेटर एवं सञ्चालक अभिशेक ओझाले जानकारी दिए । 'यसकासाथै समुदायको प्रतिकार्य योजना तर्जुमामा सहजिकरण तथा प्रभावकारी आकस्मिक प्रतिकार्य तथा जोखिम न्यूनीकरणकोलागि विपद् पूर्वतयारी क्रियाकलापहरु संचालनमा जोड दिने रहेका छन ।' उनले बताए ।
Categorized in अपराध-दुर्घटना