विपन्नलाई सहुलियतमा उपचार
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ७, सोमबार
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा शुरु गरेको छ । अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न शुरु गरेको हो ।
एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिनुभयो ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको हकलाई सुनिश्चित गर्न यो सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी निरन्तर लागिरहेका छौँ, यो एकाइबाट कसैले सहुलियतमा उपचार सेवा पाउन नसके तत्काल समितिमा जानकारी गराउन आह्वान गर्दछु ।”
प्रदेश सरकारको सहयोगमा शुरु गरिएको यो सेवाका लागि सामाजिक सेवा एकाइमा दुई सहजकर्ताको व्यवस्था गरिएको छ । सहजकर्ताले बिरामीको अवस्था हेरी निःशुल्क वा सहुलियतमा उपचार गर्न सिफारिस गर्ने अस्पतालका प्रमुख डा मोहम्मद नुरुल होदाले बताउनुभयो । इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा शुरु गरिएको यो एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित तथा महिला स्वास्थ्य स्वयम्सेविकाले सहुलियतमा उपचार सेवा पाउन थालेका हुन् ।
यसैगरी प्राकृतिक प्रकोपबाट पीडित, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई अस्पतालले सहुलियतमा उपचार सेवा प्रदान गर्ने डा होदाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ १२ किसिमका लक्षित समूहका व्यक्तिलाई उनीहरुको आर्थिक अवस्था हेरी निःशुल्क वा केही प्रतिशत छुटमा हामीले उपचार गर्छौं, लैङ्गिक हिंसापीडितका लागि हामीले केही वर्षदेखि नै अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसीएमसी०मार्फत निःशुल्क उपचार गर्दै आएका छौँ, सामाजिक सेवा एकाइबाट लक्षित समूहका बिरामी र अस्पताललाई समेत सहज हुनेछ ।”
साझेदार संस्था इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री सुवेदीले यो एकाइमार्फत प्रभावकारी सेवा दिन आफूहरु लागिरहेको बताउँदै सेवामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुहुन्छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले सेवाको प्रभावकारी प्रचारप्रसार र कार्यान्वयनलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।
जिल्लाकै पुरानो जिल्ला अस्पतालको रुपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा नौजनाको विशेषज्ञ दरबन्दी रहे पनि हाल छ विशेषज्ञसहित ५० श्ययामा सञ्चालित रहेको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो । सामाजिक सेवा एकाइमार्फत उपचार सेवा प्रदान गर्न यस वर्ष आठ महिनाका लागि बजेट प्राप्त भएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय


