STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपन्न १०० परिवारको घर बनाउँदै कालिका नगरपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

पहाड देखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि १०० घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै असोजबाट घर निर्माणको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकामा नमूना कामको रूपमा यसलाई लिएर आश्रयस्थल नभएकाहरुलाई घर बनाउँदै लगिने प्रमुख श्रेष्ठको भनाइ थियो । टिनले छाएर दुई कोठाको घर निर्माण गरिनेछ । एउटा घरका लागि रु एक लाख ५० हजार खर्च गर्ने गरी गएको नगरपरिषद्मा बजेट विनियोजन गरिएको हो । सो नगरपालिकामा पछिल्लो जनगणनाअनुसार ४२ हजार ४९५ जनसङ्ख्या रहेकामा १७ प्रतिशत चेपाङ छन् । घर बनाउँदा जातिभन्दा विपन्नलाई प्राथमिकता दिइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरमा ब्राम्ह्ण समुदाय पनि विपन्न छन् । विपन्न छनोट गरी घर बनाउँछौँ ।” नगरपालिकाले पहिलो चरणमा छनोटका लागि विधि बनाएर काम गर्दैछ ।
Categorized in राष्ट्रिय