विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता मुख्यमन्त्री गुरुङ
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको छ”, मुख्यमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास लिँदै उहाँले ट्होटें पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
गुरुङ जातिले हरेक वर्ष साउन महीनाको अन्तिम मङ्गलबार ट्होटें पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
Categorized in राष्ट्रिय