विशेष : ‘जनजातिखबर’ आजबाट नयाँ स्वरुपमा
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १८, आइतबार
इण्डिजिनियस भ्वोइस मिडियाबाट सञ्चालित अनलाइन न्युजपोर्टल जनजातिखबर डटकम आजदेखि नयाँ प्लेटफर्ममा संचालन भएको छ ।
नयाँ साजशैली एवं स्वरुपमा, नयाँ प्लेटर्फमा सुरु भएको यस न्युजपोर्टलले आदिवासी जनजातिका घटना, समाचार, विचारलाई मुख्य स्थान दिँदै आइरहेको छ ।
देशमा घटित विविध सामाजिक, राजनीतिक एवं आर्थिक घटनाहरुले मुख्य मुख्य नेपाली भाषाका न्युजपार्टलमा स्थान पाइरहे पनि आदिवासी जनजाति नेवार, तामाङ, मगर, गुरुङ, थारु, शेर्पालगायत विविध समुदायका आवाज तथा विचारहरु त्यसमा विशेष रुपमा समेटिने गरेका छैनन् । यी समुदायका समाचारहरु बाहिरिए पनि त्यहाँ पूर्वाग्रहको गन्ध पनि पाउन सकिन्छ । नेवारलगायत विविध आदिवासी जनजातिका आवाज तथा विचारहरुलाई ती न्युजपोर्टलले पूर्वाग्रही ढङ्गमा हेर्ने गरेको पाइन्छ । आदिवासी जनजातिका विविध जात्रापर्व तथा संस्कृतिका तस्बिरहरुमा मात्र ती अनलाइनहरु केन्द्रित रहेको देखिन्छ । तर यी समुदायभित्रका आवाज, राजनीतिक दृष्टिकोण तथा विचारहरु अझै स्पष्ट रुपमा आउन सकेका छैनन् । त्यसैले आदिवासी जनजाति समुदायका विचार तथा आवाज बोकी जनजातिखबर डटकम अघि बढिरहेको छ ।
सुजीव वज्राचार्य संचालन तथा राकेश महर्जन सम्पादक रहेको यस न्युज पोर्टलका संरक्षकहरुमा विजयकृष्ण श्रेष्ठ र विजयरत्न तुलाधर ‘असंबरे’ रहेका छन् ।
स्मरणीय छ, यस न्युजपोर्टलका साथै सुजीव वज्राचार्यले नेवाः अनलाइन न्युज नामक नेपालभाषायको न्युज अनलाइन पोर्टल र नेवार गतिविधि, घटना र कला, साहित्यका विविध भिडियोहरु सार्वजनिक हुने नेवाः युट्युब पनि संचालन गर्दै आउनुभएको छ ।
जनजातिखबर डटकमसँग जोडिनु हुने सम्पूर्ण पाठकवर्ग एवं सम्पूर्ण विज्ञापनदाताहरुमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको आशा लिएका छौं ।
– जनजातिखबर डटकम
Categorized in राष्ट्रिय


