विश्वभरी कोरोनाबाट मृत्यु हुने १ लाख नाघे, इटलीमा लकडाउन लम्ब्याइयो
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
एजेन्सी – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ ।
त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ९ सय ८० पुगेको छ ।
त्यस्तै शुक्रबार फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ । फ्रान्समा योसहित मृत्यु हुनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ । फ्रान्समा कूल संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ जना पुगेको छ ।
बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ । यो सहित बेलायतमा ८ हजार ९ सय ५८ पुगेको छ । बेलायतमा ७३ हजार ७ सय ५८ जना पुगेको छ ।
इटालीमा एकैदिन ५ सय ७० जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मर्नेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यहाँ कूल संक्रमित संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ ।
त्यस्तै, स्पेनमा चौबिस घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ ।
युरोपकै अर्को मुलुक बेल्जियममा पनि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बेल्जियममा २४ घण्टामा ४ सय ९६ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । संक्रमितहरुको संख्या त्यहाँ २६ हजार ६ सय ६७ रहेको तथ्याँक संकलक साइट वल्ड्रो मिटरले जानकारी दिएको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा संक्रमण फैलिइसकेको छ ।
इटलीमा मे महिनासम्म लकडाउन
इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् । यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । अब यसलाई ३ मेसम्म बढाइएको छ ।
इटलीमा लकडाउन निकै प्रभावकारी भएको मानिएको छ ।
चीनमा नयाँ संक्रमित भेटिएनन्
चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् ।
हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ ।
चीनमा हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय