विश्व नेवाः दिवसको अवसरमा सांस्कृतिक अभियन्ताहरु सम्मानित
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १९, मंगलबार
आठौं विश्व नेवाः दिवस( हलिं नेवाः दिं)को अवसरमा नेवाः गुठी न्यूयोर्कद्वारा आयोजित सम्पदा संरक्षण महाअभियानसंग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहकाबीच बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथ रथयात्रासंग सम्बन्धित गुठीयार लगायतका व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान गरिएको छ । त्यसका साथै संस्कृति र भाषा संरक्षण कार्यमा निरन्तरताको लागि वर्षौदेखि क्रियाशील सञ्चारकर्मी, कानुनी व्यवसायी र सांस्कृतिक अभियन्ताहरुलाई यसरी सम्मान गरिएको थियो।
सो समारोहमा सम्मानित हुनेहरुलाई काठमाडौं महानगरपालिका उपमेयर सुनीता डंगोलले खादा अर्पण गरिन् भने ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनले सम्मानपत्र प्रदान गरेका थिए ।
सो अवसरमा मेयर महर्जनले सम्पदा पुनःनिर्माण र अमूर्त संस्कृतिको निरन्तरतालाई महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताए।
उपमेयर डंगोल संस्कृति, सम्पदा संरक्षणमा गुठीयारहरुसंगै त्यसमा देखापरेका समस्या, कठिनाईको लागि राज्यलाई खबरदारी गर्ने अभियन्ता, कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। संस्कृति संरक्षणमा मातृभाषाको निकै परिपुरक सम्बन्ध रहेको उल्लेख गर्दै नेवाः समुदायले आफ्ना सन्तानलाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकारले नेवाः समुदायलाई एकता, आपसी समन्वयको भावलाई वृद्धि गर्न यल नेवाः समाजले काम गरिरहेको बताए । वल्र्ड नेवाः अर्गनाइजेशका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ अध्ययन र कामको सिलसिलसिलामा देशबाहिर रहेका नेवाः समुदायलाई जोड्न अर्गनाइजेसनले काम गर्दै आएको बताए ।
सो समारोहमा नेपालबाट हराएका मूर्तिहरु अमेरिकाबाट फर्काउन महत्त्वपूर्ण योगदान पुर्याउन नेवाः गुथि न्यूयोर्कका अध्यक्ष विजयमान सिंह, अधिवक्ता सञ्जय अधिकारीले विदेशबाट मूर्ति स्वेदश फर्काउन सांस्कृतिक अभियन्ता, सम्पदा र समुदायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आआफ्नो धारणा राखे ।सो अवसरमा ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जन, ज्यापू महागुथिका निर्वतमान अध्यक्ष राजभाई जकमी र हलिं नेवाः दबू नेपाः च्याप्टरका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।
Categorized in राष्ट्रिय

