STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व स्तनपान सप्ताह २०७७ – हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १७, शनिबार

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाउनुभएको छ । आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ भने बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । “शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जसले शिशुलाई सङ्क्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्यरुपमा खुवाउनुपर्छ”, सन्देशमा भनिएको छ, “आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा सकारात्मक असर पार्दछ ।” सन्देशमा सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलमा स्तनपान कक्षको स्थापना भएको जनाइएको छ । अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको पनि उल्लेख छ । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ । नेपालमा ९९ प्रतिशत आमाले कम्तीमा एक पटक आफ्ना शिशुलाई स्तनपान गराउने गरेका छन् । मन्त्री ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयलाई अनुरोध गर्दै सेवाग्राहीको भीडभाड हुने सार्वजनिकस्थलमा स्तनपान कक्षको स्थापना गरी स्तनपानलाई संरक्षण तथा सम्बद्र्धन गरिदिन सबै सरोकारवालालाई आह्वान गर्नुभयो । उहाँले कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पूँजीको विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सबै जनाले आआफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
Categorized in राष्ट्रिय