वीरगञ्जमा बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
काठमाडौं– वीरगञ्ज छपकैयामा बसिरहेका तीनजना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए । मस्जिदमा बसेकामध्ये तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो ।
संक्रमितको नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । बाँकी भारतीयलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टानइनमा राखिएको छ । प्रहरीले उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।
कोरोना भाइरसको पुष्टि भएपछि वीरगन्जवासी त्रास देखिएको छ । आइतबार नारायणी उपक्षेत्रीय अस्पतालका छेउका प्रायः मेडिकल पसलहरू बन्द गरिएका छन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले वीरगन्जको छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको जनाएका छन् । अहिले सिल गर्ने क्षेत्रको नेपाली सेनाको टोलीले अवलोकन गरिरहेको जानकारीमा आएको छ ।
Categorized in राष्ट्रिय