STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यवस्थित ढंगले निःशुल्क खाना खुवाए आपत्ति छैन : मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १८, मंगलबार

काठमाडाैं – काठमाडौंको  टुँडिखेल खुलामञ्चमा गत केही समयदेखि खुला रुपले खुवाइँदै आइरहेको निःशुल्क खाना खुवाउने अभियानले बाहिरी जिल्लाबाट काठमाडौं आउनेहरूलाई थप आकर्षित गर्ने चिन्ता बढेको छ । साथै दिनको २०० जना व्यक्तिलाई एकै ठाउँमा राखेर खाना खुवाउँदा काठमाडौंमा कोरोना संक्रमणको खतरा पनि उत्तिकै बढ्ने चिन्ता व्याप्त भएको छ ।

यसै चिन्तालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने उक्त अभियानलाई व्यवस्थित गर्न सम्बन्धित आयोजकलाई अनुरोध गरेको छ ।

अहिले मानिसहरूको आवतजावत बढ्नुका साथै सवारी साधन पनि चल्न थालेकाले रत्नपार्क जस्तो खुल्ला ठाउँमा सार्वजनिक रूपले खाना खुवाउनाले नगरको शोभा बिग्रिने मात्र नभई स्वय‌ं खाना खानेहरूकै स्वास्थ्यमा समेत खराब असर पर्ने चिन्ता पनि काठमाडौं महानगरपालिकाले व्यक्त गरेको हो ।   

त्यसैले उक्त कार्यलाई व्यवस्थित गराउन आफूहरूले गरेको अनुरोधलाई उल्टो अर्थमा बुझी ‘महानगरपालिकाले निःशुल्क खाना खुवाउन दिएन’ भनी हल्ला चलेकाेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आपत्ति जनाउनुभएको छ । 

‘यसरी फोहोर र खुला ठाउँमा राखेर भात खुवाउनु कुनै हिसाबले राम्रो होइन । खुवाउने भए आफ्नै निजी ठाउँ वा पार्टी प्यालेसमा राखेर खुवाउने व्यवस्था गर्नू भन्ने मात्रै महानगरपालिकाको आग्रह हो । खुवाउनै पाइँदैन हामीले भनेका छैनौ’, मेयर शाक्यले भन्नुभयो । 

काठमाडौं महानगरलाई सडक मानवमुक्त शहर बनाउने भनी एक वर्ष अगाडि नै घोषणा गरिएको स्मरण गर्दै मेयर शाक्यले भन्नुभयो, ‘खान नपाएका कोही छन् भने उनीहरूलाई मानव सेवा आश्रममा राखेर खुवाउने जिम्मा नै महानगरपालिकाले लिइसकेको छ । त्यसैले आवश्यक परे अझै पनि खुवाउन हामी तयार छौँ । तर काठमाडौंलाई मागेर खानेहरूको शहर चाहिँ बनाउनु भएन ।’

रत्नपार्कमा लहरै बसेर खानेहरूको फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गरिएकोमा पनि मेयर शाक्यले आपत्ति प्रकट गर्नुभयो । यसले खाना खाने नागरिकको आत्मसम्मानमा ठेस पुर्याउने विचार उहाँले राख्नुभयो । 

‘यो त खाना खानेहरूकै आत्मसम्मानमा ठेस पुर्याउने काम भयो । निःशुल्क खाने मानिसहरूको फोटो सामाजिक सञ्जालमा राखेर आयोजकले के व्यापार गरिरहेका छन् त्यो त मलाई थाहा भएन, तर यसले खाना खाने नागरिकको आत्मसम्मानमा घाउ पार्ने काम भने भएको छ’ मेयर शाक्यले भन्नुभयो ।

कोरोना महामारी रोकथामका लागि सरकारले तीन महिने लकडाउन गर्दा त्यसबाट पीडित हुन पुगेका गरिब, निम्न आय भएकाहरूलाई काठमाडौं महानगरपालिकाले राहत वितरण गर्नुका साथै विभिन्न स्थानमा सार्वजनिक रूपले खाना खुवाउने व्यवस्था समेत गरेको थियो ।

अहिले रत्नपार्कमा दैनिक खाना खुवाउने कार्यले बाहिरबाट मानिसहरू आउन अझ प्रोत्साहित गर्ने र राति सडकमा सुत्नेहरूको संख्या वृद्धि गर्ने चिन्ता स्थानीय जनतामा व्याप्त भएको छ ।

Categorized in उपत्यका