शितला मावि, बालाजु हाईटमा दैनिक ५०० जनाको मेस
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं । कोरोना भाइरसको महामारिको संक्रमणबाट संसार आक्रान्त छ । यस भाइरसको सक्रमणको तिब्रता र भ्याक्सिनको विकास भइ नसकेको कारण मान्छे मान्छे बिच दुरी कायम गर्नेर भिडभाडलाई रोक्न लकडाउनको उपाय संसारका प्राय देशहरुले लागु गरेका छन् । नेपालमा पनि सरकारले चैत ११ गतेदेखि विभिन्न चरणमा गरेर लकडाउन लागु गरेको ५० दिन भन्दा बढी भइसकेको छ र यही जेठ ५ गतेसम्मको घोषित लकडाउन यथावत नै छ । लकडाउनका कारण मानिसको आवतजावत थप्प छ, अत्यावश्यक सेवा क्षेत्र बाहेक अन्य आर्थिक गतिबिधि प्राय सुन्य रहेको छ । दैनिक ज्यालादारी तथा मजदुरी गरिखानेहरूले साँझबिहान हातमुख जोर्न नपाएपछि मानवीय भावनाद्वारा ओतप्रोत मानिसहरूले टोलटोलमा सामूहिक भोजन गराउँदै आएका छन् । यसका लागि स्थानिय तहसँग समन्वय गर्न, सामाजिक दुरी कायम गराउन, स्वास्थ्य परिक्षण र सरसफाइ लगायतमा ध्यान दिन, ब्यक्तिगत तथ्यांक दुरुस्त राख्न सम्बन्धित निकायले अनुरोध गरेको सुनिनमा आएकोछ । विभिन्न स्थानमा सामूहिक भोजन गराउने क्रम चलिरहँदा आफ्नो क्षेत्रका गरीव दुःखीहरूलाई सामूहिक भोजन गराउनुपर्ने आवश्यकता महशुस गरी सितला मा.वि. बालाजु हाईटमा यही बैशाख २० गते देखि प्रकाश बलामि, दिलिपराज वन्त, देवेन्द्र कुमार श्रेष्ठ, बुद्धिमान श्रेष्ठ, गोकुल वस्ती, कविता बस्नेत ‘श्रेष्ठ’, शुक्रलाल श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ र राजेन्द्र भण्डारी लगायतको समूहले सामुहिक मेस संचालन गरेका छन् । विद्यालयका प्र.अ. शुक्रलाल श्रेष्ठले प्रमुख व्यवस्थापकको जिम्मेवारी वहन गर्नुभएको छ । निकै व्यवस्थित भनी प्रशसित यस मेसमा खरिबोट, बोहराटार, बालाजु हाईट, वनस्थली, दुङ्गेधारा मात्र होइन, नयाँबजारक्षेत्रबाट समेत मानिसहरू खानका लागि जाने गरेका छन् । सुरुका दिनमा मेसमा १५० जनाको सहभागिता हुने गरेको भएपनि हाल विहान २५० र साँझ २५० जनाभन्दा बढीलाई यस मेसबाट खाना खुवाउने काम भइरहेको बुझिएकोछ । हाल आवश्यक ब्यक्तिले मात्र यस मेसबाट सेवा लिन सकिने गरी कुपनको व्यवस्था गरिएको र घरमै खानाको व्यवस्था गर्न सक्ने ब्यक्तिको पहिचान गरी कुपन फिर्ता लिने काम समेत गरेको मेस संचालक समितिका संयोजक प्रकाश बलामिले जानकारी दिनुभएको छ । सुरुको दिनमा मेस संचालकहरूले आफआफैले रकम उठाएर खर्च गरेकोमा खाना मेसमा सहभागीहरूको संख्या दैनिकरूपमा बढ्दै जाँदा अहिले एकै दिनमा २ बोरा चामल र १२ किलोसम्म दाल खर्च हुने भएपछि उक्त खर्चलाई भरथेग गर्न स्थानीय ब्यापारी, व्यवसायी, समाजसेवीहरूले समेत सहयोग गर्न थालेको र यसरी दालचामलको सहयोग आउन थालेपछि मेस संचालकहरूले नुनतेल, जिरामसला र केही अपुग वस्तुहरू व्यवस्थापन गरिरहेको छ । बिहान बेलुका गरी ५०० को हाराहारिमा खाना खानेहरू आउने भएकोले अहिले दैनिक रु २५ हजार जति खर्च हुने गरेको र मेसमा सहभागीहरूलाई दालभात, तरकारी, अचारका साथ हप्तामा एकछाक मासु दिनेगरी व्यवस्थापन गरिएको मेस संचालक समितिका दिलिपराज वन्तले बताउनुभयो । हाललाई यस मेस जेठ ५ गतेसम्म सञ्चालन गर्ने तयारी रहेको र त्यस पछि स्थितिको मुल्यांकन गरी साथीहरु बिच छलफल पश्चात अरु निर्णय गर्ने मेस संचालक समितिका सचिब देबेन्द्र श्रेष्ठले जानकारी गराउनु भयो । कोरोना भाइरसको महामारी र त्यसबाट बच्न अपनाइएको लकडाउनले दैनिक ज्यालादारी गरी खाने मजदुरहरु सबैभन्दा बढी मारमा परेका छन् । विगतमा अन्य विविध संकटका बेला सरकारले आर्थिक राहतको प्याकेज घोषणा गर्दा वा रोजगारी सिर्जनाको योजना बनाउँदा यस सीमान्त मजदुर तप्का सधै छुट्ने गरेका छन् । तर यस महासंकटको बेला सरकारलाई यसका लागि छुट हुनसक्ने छैन , किनभने यसपटक आर्थिक गतिबिधि सामान्य हुन लामो समय लिन सक्ने देखिन्छ । मेसमा खाना खाएका एक जना ज्यालादारी मजदुरले लकडाउन भरी त यहाँ परिवार समेतले खाना खान पाएका छौ, तर लकडाउन सकिए पछि यसरी खान पाइदैन होला अनि भोकमरीले मर्ने पो होकि भन्ने चिन्ता र लाचारी सहितको भनाइबाट पनि स्थितिको भयावहता महसुस गर्न सकिन्छ । तर प्रत्येक राष्ट्रिय संकटमा नेपालीहरुले देखाउने देशभक्ति र मानबियताको भावनाले निरासाका बिच आशा र उत्साह सञ्चार हुने गरेका छन् । यस्ता मेस सञ्चालनको गतिबिधि नेपाली नेपाली बिच एकता र विश्व मानबियताको सेतुको प्रतिक र संकेतको रुपमा रहेको छ ।
Categorized in उपत्यका