शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घटयो
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।
सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको निकुञ्जले जनाएको छ ।
सन् २०१९ मा गरिएको गणनामा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार २०८, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी कूल दुई हजार २४६ बाह्रसिङ्गा निकुञ्जमा रहेको प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले बताउनुभयो ।
“शून्य चोरी शिकारी रहे पनि बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको पाइएको छ”, उहाँले भन्नुभयो, “बाह्रसिङ्गाको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण के हो, यसको खोजीका लागि निकुञ्जले अध्ययन कार्यअगाडि बढाएको छ ।”
बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै यो वन्यजन्तु पाइने गरेको छ । शुक्लाफाँटा घाँसेमैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ । शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजीकका निकुञ्ज भित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो ।
उहाँका अनुसार निकुञ्जको स्थापनाकालमा अर्थात् सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकामा सन् १९९३ मा बढेर यसको सङ्ख्या एक हजार ८५० पुगेको थियो । त्यसपछि सन् २००७ मा बाह्रसिङ्गाको सङ्ख्या एक हजार ६७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५ र सन् २०१३ मा दुई हजार १७० रहेका थियो ।
बाह्रसिङ्गा गणनाका लागि चार वटा हात्तीसहित निकुञ्ज कार्यालयका १५, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका दुई र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन जना गरी २० जना टोली खटिएको थियो । हात्तीमा सवार गणकहरुले टाउको गन्ती हेड काउन्ट का आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेको बताइएको छ ।
Categorized in राष्ट्रिय


