STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शून्य दरबन्दीमा १२ विद्यालय

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिनुभयो । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो । शून्य दरबन्दीमा रहेका विद्यालयलाई शिक्षकका लागि शिक्षण सहयोग अुनदानका रुपमा बजेट प्राप्त हुँदै आएको बेल्बासेको दाबी छ । विसं २०७६÷७७ मा शिक्षा विकास तथा समन्वय एकाइमा बजेट प्राप्त भएको थियो । विसं २०७५÷७६ मा स्थानीय तहमा नै केन्द्रीय सरकारले शिक्षण सहयोग अनुदान पठाएको हो । शिक्षण अनुदानको रकम मावि तहमा रहेका शिक्षकहरुलाई तलब प्राप्त भए पनि आधारभूत तहका शिक्षकले अनुदान कार्यक्रमबाट बञ्चित हुनुपरेको छ । विसं २०६६ देखि दरबन्दी थप गर्ने काम भएको छैन । पछिल्ला वर्षमा माविका कक्षा सञ्चालनमा आएका विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन गराउने शिक्षकका लागि पारिश्रमिकको जिम्मेबारी विद्यालयले बेहोर्नुपर्ने बाध्यता छ । गाउँपालिकाले जसोतसो गरी मावि तह सञ्चालन गर्नुपर्ने बाध्यता छ । शून्य दरबन्दीमा सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । तर, मावि नहुँदा अन्यत्र पठाउँदा बढी समय लाग्ने भएपछि ग्रामीण क्षेत्रका माविमा गाउँपालिका र विद्यालयको आन्तरिक खर्चबाट मावि शिक्षक पालिन्छन् । शून्य दरबन्दीका मावि कहाँ छन् पाल्पाको तिनाउ गाउँपालिकाको कोलडाँडामा बृद्ध मावि, तिनाउको दोभानस्थित थानीडाँडा, मस्यामको जनदीप मावि, रैनादेवी छहरा गाउँपालिकाको गहतेस्थित गहते मावि, भुवनपोखरीस्थित जोगवाणी मावि, जुठापौवास्थित गुहाठाना मावि रहेका छन् । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा जनप्रिय मावि र ज्यामिरेका जनप्रिय मावि शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका दुई माविमा हाल पनि शिक्षकलाई कसरी र कहिलेसम्म तलब खुवाउने भन्ने पिरलो छ । रिब्दीकोट गाउँपालिकाको ठिमुरेस्थित भाष्कर मावि र खस्यौलीको माविको समस्या फरक छैन । जिल्ला सदरमुकाम तानसेन नगरपालिका–१ भूषलडाँडास्थित माविको समस्या पनि उस्तै छ । जिल्लाको नमूना पठनपाठन हुने विद्यालयको रुपमा नाम दर्ज गर्न सफल भए पनि मावि तहमा दरबन्दीका शिक्षक नहुँदाको पीडा यो माविलाई पनि छ । झण्डै ५१९ विद्यार्थी भूषलडाँडा माविमा पठनपाठन गर्छन् । विषयगत रुपमा शिक्षकको अभाव छ । निजी शिक्षकका भरमा मावि सञ्चालन गर्दा अभिभावकले विश्वास कम गर्ने समस्यासमेत भोगेका छन् । शिक्षक विद्यार्थी अनुपातमा एक शिक्षक बराबर ६८ विद्यार्थी रहे पनि स्थानीय तहबाट दरबन्दी नहुँदा विषयगत शिक्षकको अभाव विद्यालयले खेपेको शिक्षक राजेन्द्र बस्यालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय