STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडाँै उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गर्नुभयो । सांसद सुचिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भन्नुभयो । सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिनुभयो । सांसद लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु छ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गर्नुभयो । सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गर्नुभयो । सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो । सांसद सत्यनारायण खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालीम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भन्नुभयो । सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीका रुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा सङ्क्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिनुभयो । सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गर्नुभयो । सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताउनुभयो । सांसद सञ्जयकुमार गौतमले नेपाल र भारतबीच लामो समयदेखि गुलरिया नाका सञ्चालन गर्ने भनी सहमति भए पनि आजसम्म किन सञ्चालन हुन सकेन भनी प्रश्न गर्नुभयो । सांसद हरिलाल अधिकारीले गोर्खामा बाघ भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस् भन्नुभयो । सांसद ज्ञानकुमारी छन्त्यालले ८०० मेघावाट क्षमताको उत्तर गङ्गा विद्युत् आयोजना छिटो निर्माण सञ्चालनमा सरकारलाई सुझाव दिनुभयो ।
Categorized in राष्ट्रिय