संक्रमणको जोखिम यथावतै रहेकाले बाघभैरव जात्रा स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार
काठमाडौं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कोभिड–१९ को कारण कीर्तिपुरमा बाघभैरव जात्रा स्थगित भएको छ ।
कीर्तिपुरमा वर्षेनी मनाउँदै आइरहेको सो ऐतिहासिक जात्रा आयोजना गर्दै आइरहेको बाघभैरव जात्रा गुठीले साउन १८ गते एक विज्ञप्ति जारी गरी जात्रा स्थगित भएको सुचना निकालेको छ ।
यस वर्ष भदौ १ गते सिंह संक्रान्ति सोमबारको दिन जात्रा परेको सम्बन्धमा बाघभैरव जात्रा गुठी तदर्थ समितिले साउन १७ गते शनिबार बसेको बैठकले नगर परिक्रमा गरी जात्रा नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, “कोभिड–१९ कोरोना भाइरसका कारण कीर्तिपुर नगर क्षेत्रभित्र संक्रमण हुने सम्भावनालाई मध्यनजर गर्दै विगतका वर्षमाहरुमा जस्तै २०७७ भदौ १ गते बाघैरव जात्रा यसपालि स्थगित गर्ने र उक्त दिन सीमित गुठीयाहरु मात्र बसी पूजापाठ गरी जात्रा सम्पन्न गर्नेछ ।”
जात्राको दिन बाघभैरवको गरगहना सम्बन्धित व्यक्तिहरुले बुझी सोही दिन पूजा गरी पुनः बाघभैरवमा नै चढाउने प्रचलन रहेकोमा यस वर्ष जात्रा स्थगित हुने भएकोले सो कार्य पनि बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।
जात्रा स्थगित भए पनि जात्राको माहौलअनुसार मन्दिर परिसरमा भीड हुनजाने सम्भावनालाई मध्यनजर गरी साउन ३१ गतेदेखि नै बाघभैरवको मन्दिर पनि बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।
लकडाउन अवधिभर बाघभैरवको मन्दिर पूर्ण रुपमा बन्द रहे पनि लकडाउन खुलेसँगै मन्दिर परिसर पनि खुला गरिएको हो ।
Categorized in उपत्यका