संसद बैठक एक साताका लागि स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ माघ २५, मंगलबार
माघ २५, काठमाडौं - प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाएको बैठक मंगलबार राति स्थगित गरेको हो । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक स्थगित भएको हो । संघीय संसद् सचिवालयले भने सूचना टाँसेर विशेष कारणले बस्न नसक्ने उल्लेख गरेको छ ।
सभामुख सापकोटाले अर्को बैठक फागुन २ गते दिउँसो १ बजे आह्वान गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
एमसीसी टेबल गर्न सभामुख सापकोटाले राष्ट्रिय सहमति खोजेको, सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध गरिरहेको र एमसीसी अन्योलमा परेका बेला बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि एमसीसीकै कारण १० दिनका लागि बैठक सारिएको थियो ।



