संसद विघटनको विरोधमा काठमाडौं र कीर्तिपुरमा मसाल जुलुस
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ६, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै विभिन्न दल र समूहहरुबाट यसको विरोध शुरु भएको छ । यसै क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिएको छ ।
जनता समाजवादी पार्टीको भ्रातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले संसद विघटन गर्ने सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।
काठमाडौंको बाङ्गेमुढा चोकबाट निकालिएको जुलुस थँहितिबाट त्यौड हुँदै असन पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापतिले सरकारको असंवैधानिक कदम फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने बताए ।
जसपा काठमाडौं जिल्लाका अध्यक्ष समेत रहेका प्रजापतिले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको यो निर्णय स्वेच्छाचारी र असंवैधानिक भन्दै यो कदम सरकारले फिर्ता लिनैपर्ने, नभए यसको नतिजा भोग्न तयार रहन चेतावनी पनि दिए ।
आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकको सिफारीसलाई अनुमोदन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री ओलीले आगामी बैसाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन् भने राष्ट्रपति भण्डारीले २०७८ बैशाख १७ र २७ गते निर्वाचन तोकेका छन् ।
सरकारको यो कदमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, प्रतिपक्ष जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी लगायतले विरोध जनाइरहेका छन् भने आइतबार साँझ कीर्तिपुर मा पनि संसद विघटन विराेध मा स्वतःस्फुर्त रुपमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
Categorized in राजनीति

