संस्कृत पठनपाठनको निर्णयमा नेवाः देय् दबूको आपत्ति
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २८, आइतबार
काठमाडौं – संस्कृत भाषालाई पठनपाठन गराउने सरकारको निर्णयप्रति नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले आपत्ति जनाएको छ ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “बहुभाषी, बहुसांस्कृतिक, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको सरकारको यस किसिमको एकल पक्षपोषण कार्यप्रीत नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।”
विभेदकारी यस निर्णयलाई सच्याएर मातृभाषाबाट पठनपाठन गर्नपाउने नैसर्गिक अधिकारको रक्षा गर्दै कक्षा १ देखि ऐच्छिक विषयको रुपमा आ–आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने व्यवस्था गर्न पनि दबूले सरकारसँग माग गरेको छ ।
नेपालमा बोलिने मातृभाषाहरुको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको र सरकारले भाषिक समानताको आन्दोलनको मूल मर्मलाई लत्याएर राज्यको ढुकुटीको दुरुपयोग गरी एक जात, एक धर्म, एक भाषाको नीति लादेर यहाँका जातीय, भाषिक, सांस्कृतिक पहिचान र उत्पीडिन वर्गलाई पछाडि पार्ने षड्यन्त्र भएको भन्दै यसमा नेवारहरुको घोर विरोध रहेको विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राष्ट्रिय